आधुनिक कृषि बजार केन्द्र निर्माण

नारायणी रजौरे । दाङ, ९ पुस : तुलसीपुर उपमहानगरपालिका–१५ धम्कापुरकी ४२ वर्षीया स्यानी चौधरी निकै खुशी हँुदै तरकारी बेच्दै हुनुहुन्थ्यो । केही दिन पहिले तुलसीपुर बजारको बाहिनी चोकमा सडक किनारामा बसेर तरकारी बेच्ने चौधरी आजदेखि तुलसीपुरमा निर्माण सम्पन्न भएको आधुनिक तरकारी बजार केन्द्रमा बसेर तरकारी बेच्न पाउँदा आफू निकै खुशी भएको उहाँले बताउनुभयो ।

वर्षौंदेखि सडकका छेउ, किनारामा बसेर तरकारी बेच्ने त कहिले छिटुवामा तरकारी बोकेर घरघरमा घामपानीका बेवास्ता गरी जानु पर्दथ्यो । त्यस्तै अँध्यारोमा सडक किनारामा बस्दा गाडीले किच्छन् कि भन्ने डर हुन्थ्यो, कतियपले पसल अगाडि बस्न दिँदैनौ भनी गाली गर्दथे ।

अब सबै पीडाबाट उहाँ मुक्त हुनुभयो । यहाँ बसेर तरकारी बेच्न पाउँदा भन्दै आफूले विगतमा भोग्नु परेका पीडा उहाँले सुनाउनुभयो । “अब सजिलो भएको छ, घाम पानीबाट पनि ओत लाग्ने ठाउँ छ, सबै सँगै बसेर तरकारी बेच्न पायाँै”, उहाँले भन्नुभयो । चौधरीले एक बिघा जमीनमा विभिन्न जातका तरकारी खेती गर्दै आउनुभएको छ ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१२ कचेलाकी ३५ वर्षीया ममता चौधरी पनि आज बिहान यहाँको आधुनिक तरकारी बजार केन्द्रमा पुगेर आफूले उत्पादन गरेको आलु बिक्री गर्नुहुन्छ । उहाँले पनि सबै किसान एकै ठाउँमा बसेर तरकारी बेच्न पाउँदा सजिलो भएको अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले हामी छिटुवामा तरकारी बोकेर घरघरमा जान्थ्याँै, अहिले तरकारी लिन घरघरबाट ग्राहकहरु यहाँ आउने गर्नुहुन्छ । हामीलाई चिसोबाट बच्न, तरकारी बिक्री मूल्य थाहा पाउन पनि सजिलो भएको छ ।”

उहाँले भन्नुहुन्छ, ‘‘नयाँ ठाउँ भएर होला शुरु शुरुमा अलि अप्ठेरो भयो । तरकारी किन्न ग्राहकहरु आउने सङ्ख्यामा विस्तारै बढ्न थालेको छ । हिजो र आज सबै आलु बिक्री हुँदा खुशी छु ।’’ अझै केही व्यक्ति अटेर गरेर तुलसीपुर बजारका सडकमा तरकारी बेच्ने गरेकाले तिनीहरुलाई पनि सम्झाएर यस ठाउँमा ल्याउन उपमहानगरपालिकाले पहल गर्नुपर्ने उहाँको सुझाव छ ।

प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको बताउने ममताका सासूससुराको उमेर ढल्कँदै गएको छ । उहाँहरुलाई चिसोबाट बचाउनका लागि अहिले आफू तरकारी बेच्न आउने गरेको पनि उहाँले बताउनुभयो । यस ठाउँमा बिहान ६ देखि ८ बजेसम्म मात्र किसानले उत्पादन गरेका तरकारी बेच्नका लागि उपमहानरपालिकाले निःशुल्क ठाउँ उपलब्ध गराएको पनि उहाँले बताउनुभयो ।

त्यस्तै तरकारी किन्न तुलसीपुर उपमहानरपालिका–६ बाट पुग्नुभएका ४० वर्षीय हरिप्रसाद अधिकारीले यहाँ आएर किसानहरुसँग तरकारी किनमेल गर्दा सजिलो भएको बताउनुभयो । धेरै किसान एकै ठाउँमा र सबै तरकारी तथा एकै ठाउँमा किन्न पाउँदा सजिलो भएको बताउनुभयो । बजारदेखि अलि टाढा हुँदा तरकारी किन्न आउन केही समय लागे पनि व्यवस्थित रहेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले तरकारी तथा फलफूल व्यवसायीहरु तथा गाउँगाउँबाट तरकारी छिटुवामा बोकेर बजारमा बिक्रीका लागि ल्याउने कृषकलाई एकै थलोमा राखी व्यवस्थित तरिकाले बिक्री वितरण गर्नेका लागि नागरिकसँग समन्वय गरी सार्वजनिक निजी साझेदारीमा सो आधुनिक तरकारी तथा फलफूल कृषि बजार केन्द्र निर्माण सम्पन्न गरेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।

उहाँले तरकारी तथा फलफूल व्यवसायीहरुबाट रु एक करोड १२ लाख र उपमहानगरपालिकाको रु एक करोड आठ लाखको लागतमा बजार केन्द्र निर्माण गरिएको पनि जानकारी दिनुभयो । बजार क्षेत्रभित्र रहेका अव्यवस्थित तरकारी तथा फलफूललगायत कृषि उपज बजारलाई व्यवस्थित गर्नका लागि उहाँले यस भवनमा निर्माणले बजारका चोकचोक तथा सडक किनारामा अव्यवस्थित रुपले तरकारी तथा फलफूल बेच्ने कार्य अब पूर्ण रुपले रोकिने र यो व्यवसायीहरुका लागि मात्र नभई कृषकका लागि सुविधा प्रदान गर्न बताउनुभयो ।

सो भवनमा ३७ वडा कोठा रहेका छन् । तीमध्ये १९ वटा कोठा फलफूल व्यवसायीलाई दिएको छ भने अन्य कोठामा तरकारी व्यवसायीहरु रहेका छन् । प्रतिकोठको भाडादर रु तीन हजार र त्यहाँ कार्यरत सुरक्षागार्ड र सरसफाइका लागि भने छुट्टै शुल्क निर्धारण गरिएको भवन निर्माण समितिका कोषाध्यक्ष तथा तरकारी व्यवसायी समितिका निर्वमान अध्यक्ष झुपलाल खड्काले जानकारी दिनुभयो ।

त्यस्तै कृषकलाई तरकारी तथा फलफूल बिक्रीका लागि भने निःशुल्क तथा छुट्टै ठाउँ उपलब्ध गराएको छ भने अब शीत भण्डार कक्ष चमेनागृह पनि निर्माण गरिने खड्काले बताउनुभयो । बजार केन्द्रको स्थापना भएपछि अहिले तरकारी तथा फलफूल व्यापारीहरुमा उत्साह छाएको छ । “तरकारी बजारको व्यवस्थापनका लागि बजार केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, तरकारी व्यवसायी खड्काले भन्नुभयो ।

तुलसीपुरलाई स्मार्ट सिटी बनाउनका लागि बजार केन्द्र स्थापना अपरिहार्य रहेको भन्दै यसले तुलसीपुरको सुन्दरतालाई बढाउँदै लैजाने तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष नवराज लामिछानेले बताउनुभयो । सेन्टर मावि विद्यालयको जग्गा व्यवस्थापनसँगै तुलसीपुरमा रहेको तरकारी तथा फलफूल बजार व्यवस्थित गर्नका लागि विद्यालयसँग २० वर्षका लागि जमीन भाडामा लिएर नागरिकको साझेदारीमा भवन निर्माण गरिएको पनि वडाध्यक्ष लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.