नारायणगोपाल युवा सङ्गीत पुरस्कार अविरल र मीनालाई

काठमाडौँ, ४ पुस : यस वर्षको नारायणगोपाल युवा सङ्गीत पुरस्कार आशिष अविरल र मीना निरौलालाई प्रदान गरिएको छ । राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा उहाँहरुलाई नेपाली सङ्गीतका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जनही रु २५ हजार र स्वर्ण पदकसहित पुरस्कृत गरिएको हो ।

विसं २०४२ मा स्थापित सो संस्थाले २०४८ सालमा नारायणगोपाल गुरुवाचार्यका स्मृतिमा सो कोष स्थापना गरेको हो । युवा गायक तथा सङ्गीतकार अविरलले ‘सालको पात…’, ‘लालुमाई…’ तथा निरौलाले ‘काले दाइ काले दाइ…’, ‘ठमेल बजार…’ जस्ता गीत गाउनुभएको छ । यो पुरस्कार हालसम्मा ४६ जनालाई प्रदान गरिसकिएको छ ।
यस्तै यस वर्षको चित्रकार अरनिको युवा कला पुरस्कार विजय महर्जन र सविता डङ्गोललाई प्रदान गरिएको छ । चित्र र मूर्तिकलाका फाँटमा सक्रिय रही निरन्तर रुपमा योगदान दिएको भन्दै युवाकलाकारद्वय महर्जन र डङ्गोललाई जनही रु २५ हजार र स्वर्ण पदकसहित सो पुरस्कार दिइएको हो । कोषले सो पुरस्कारको स्थापना विसं २०५७ मा स्थापना गरेको हो । स्थापनाकाललेखि सो संस्थाले हालसम्म ३० जनालाई पुरस्कार प्रदान गरिसकेको छ ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवाको सम्मानका लागि समग्र देश नै अग्रसर हुनुपर्ने बताउनुभयो । युवाको परिचालन र सम्मान नभएसम्म देश विकास हुन नसक्ने भन्दै उनीहरुको प्रतिभाको कदर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

संस्थाका अध्यक्ष भीमबहादुर अधिकारीले संस्था स्थापनाकालदेखि नै युवाको हितमा लागिपरेको भन्दै आउने दिनमा पनि यसलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयोा ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.