शुक्लाफाँटामा दुई चरणमा खरखडाइ हुने
भीमदत्तनगर, १ पुस : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यसवर्ष दुई चरणमा सर्वसाधारणका लागि खरखडाइ खुला गरिने भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले आगामी पुस ५ देखि १२ गतेसम्म गरी दुई चरणमा खरखडाइ खुलाउने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा पुस ५ देखि ७ गतेसम्म दोधारा चाँदनी क्षेत्र र पुस १० देखि १२ गतेसम्म भीमदत्त नगरपालिकाको बागफाँटा, बेदकोट र शुक्लाफाँटा नगरपालिकाका लागि अर्जुनीफाँट र बेल्डाँडी गाउँपालिकामा समेत खरखडाइ खुला गरिनेछ ।
यहाँ हरेक वर्ष हिउँदको समय खोलिने खरखडाइमा स्थानीयवासीको भीड लाग्ने गरेको छ । “धेरैले पक्की घर संरचना बनाइसक्दा पनि खरखडाइमा कमी आएको छैन”, प्रमुख संरक्षण अधिकृत पौड्यालले भन्नुभयो, “गोठ र घरलगायतमा प्रयोगका लागि खरखडाइमा आउने गर्दछन् ।”
निकुञ्ज कार्यालयले खरखडाइमा सहभागी हुन प्रतिव्यक्ति रु ५० तिरेर पुर्जी लिनुपर्ने प्रावधान रहेको जनाएको छ । खरखडाइले सुकेको घाँंस व्यवस्थापन हुनुका साथै मध्यवर्ती क्षेत्रका बासिन्दाको आवश्यकतालाई समेत ख्याल गरेर खुलाइने निकुञ्जको भनाइ छ ।
निकुञ्ज प्रशासनले शुक्लाफाँटाभित्र रहेको मुलुककै ठूलो घाँसे मैदानको घाँस व्यवस्थापनसमेत गरिरहेको छ । “बृहत् रुपमा घाँस व्यवस्थापनका लागि ठेक्का भइसकेको छ”, पौड्यालले भन्नुभयो, “घाँस व्यवस्थापनपछि वन्यजन्तुलाई पनि आहाराका लागि सहज हुन्छ ।”
चराको प्रमुख बासस्थान शुक्लाफाँटा
विश्वमै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्यामा पनि वृद्धि हुँदै गइरहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले यहाँ चराका प्रजातिको सङ्ख्या वृद्धि भएको बताउनुभयो ।
“सन् २०१९ को हिउँदका बेला हामीले चराको गणना गरेका थियौँ”, प्रमुख संरक्षण अधिकृत ढकालले भन्नुभयो, “चराका प्रजातिको सङ्ख्या बढेर ४५० पुगेको छ ।” सन् २०१२ सम्मको गणनामा ४२४ प्रजातिका चरा रहेको शुक्लाफाँटामा नेपालमा पाइने चराको प्रजातिको करिब ५० प्रतिशत शुक्लाफाँटामा पाइन्छ ।
यहाँ सन् २०१३ देखि चराको प्रजातिको गणना हुँदैआएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।“ नेपालमा ८८७ प्रजातिका चरा छन्”, पौड्यालले भन्नुभयो, “विश्वमै दुर्लभ मानिने चराको प्रजाति पनि शुक्लाफाँटामा छ ।”
यहाँ भूँडिफोर गरुड, राजधनेश, सुनौलो तोपचरा, खरमजुर, सानो खरमजुर, सुन गिद्ध, बगाले बगेडी, सिमतित्रा र सारसलगायतका २३ प्रजातिका विश्वमा दुर्लभ मानिएका चरा शुक्लाफाँटामा रहेको उहाँले जानकारी दिनुभयो ।
तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटामा नेपालकै ठूलो घाँसे मैदान, १६ वटा पाटे बाघ, १७ वटा गँैडालगायत वन्यजन्तु यहाँका आकर्षण हुन ।
