डा सुवेदी र श्रेष्ठ सम्मानित

काठमाडौँ, २३ भदौ : लेखक डा अभि सुवेदी र जनगायक रामेश श्रेष्ठलाई सम्मान गरिएको छ ।

सिंहवहानी एलुम्नाइ एशोसिएशनद्वारा आयोजित कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति तोरणबहादुर कार्की र एशोसिएशनका अध्यक्ष जगत केसीले संयुक्त रुपमा उहाँहरुलाई दोसल्ला ओढाएर ताम्रपत्रद्वारा सम्मान गर्नुभयो । सिंहवहानी उच्च माविमा पढेर देश र समाजमा उदाहरणीय काम गरेवापत दुबैजनालाई सम्मान गरिएको एशोसिएशनका सल्लाहकार पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।

एशोसिएशन तेह्रथुम म्याङ्लुङ्स्थित सिंहवहानी उच्च मावि विद्यालयका विद्यार्थी र शिक्षकको संस्था हो ।

सो अवसरमा सम्मानित व्यक्तित्व डा सुवेदीले एशोसिएशनले सम्मान गरेर स्कूल जीवनको सम्झना गराएको भन्दै संस्थाले सामाजिक विकास क्षेत्रमा पनि काम गर्नुपर्ने बताउनुभयो ।

अर्का सम्मानित व्यक्तित्व श्रेष्ठले जनमैत्री सरकारको खाँचो औल्याउनुभयो ।

यसैगरी कार्यक्रममा ‘मगज’ स्मृति विशेषाङ्कसमेत सार्वजनिक गरिएको छ । एशोसिएशनद्वारा प्रकाशित उक्त विशेषाङ्कको सम्पादक प्रा डा खेम दाहालले गर्नुभएको छ । विशेषाङ्कमा विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीको संस्मरणात्मक लेख रहेको सम्पादक दाहालले बताउनुभयो ।

पूर्वउपकुलपति कार्कीले विद्याको पहिलो घर विद्यालयलाई कहिल्यै पनि बिर्सन नहुने बताउँदै पूर्वविद्यार्थीले विद्यालयको विकासमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

एशोसिएशनका अध्यक्ष केसीले विद्यालयलाई सहयोग प्रदान गर्नका लागि एशोसिएशन गठन गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.