भाडादर निर्धारण वैज्ञानिक बनाउन अध्ययन शुरु

काठमाडौँ, ८ कात्तिक : सरकारले सार्वजनिक यातायातको भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन अध्ययन शुरु गरेको छ ।

अहिलेसम्म ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत जनशक्तिवापत लाग्ने खर्च र सवारीसाधनमा प्रयोग हुने उपकरणलगायतलाई आधार बनाएर भाडादर निर्धारण हुँदै आएकामा यही आधार ठीक हो–होइन भनी निक्र्यौल गर्न अध्ययन थालिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

एक दशक पहिलेदेखि शुरु भएको भाडादरको आधारमा पुनरावलोकन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँले भन्नुभयो, “केही महीनाभित्रमा त्यसको अध्ययन हुनेछ ।”

अहिलेसम्म सरकारले १८सूचकलाई आधार बनाएर भाडा निर्धारण गर्दै आएको थियो । ती सूचकहरु बढ्न वा घट्न सक्ने उहाँको भनाइ थियो । भाडा निर्धारण सूचकमा पुनरावलोकन भएपछि मात्रै भाडा समायोजन गरिने महानिर्देशक हमालले बताउनुभयो ।

यातायात व्यवसायी महासङ्घले सरकारले समयसमयमा भाडा समायोजन गर्नुपर्नेमा जोड दिँदै आएको थियो । पेट्रोलियम पदार्थका मूल्यलाई आधार बनाएर भाडा समायोजन भए पनि सवारी साधनका उपकरण र जनशक्तिको सुविधाका आधारमा लामो समयसम्म भाडादर समायोजन हुननसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.