साँवाबारे लेखिएको स्मृति ग्रन्थ लोकार्पण

काठमाडौँ, २ कात्तिक : अथक योद्धा अम्बिका साँवाबारे लेखिएको स्मृति ग्रन्थको आज लोकार्पण गरिएको छ । अम्बिका साँवा स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सो ग्रन्थको लोकार्पण गर्नुभयो ।
सम्पादक राजेश्वर थापा, टङ्क श्रेष्ठ र डा चन्द्र लक्सम्बाद्वारा सम्पादित सो ग्रन्थमा साँवाले नेपाली समाज र नेपालको कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरिएको छ । विसं १९९३ मा ताप्लेजुङमा जन्मिनुभएका साँवा जनसङ्ख्या तथा वातावरणमन्त्री समेत हुनुभएको थियो । उहाँको २०६७ असोज ३१ गते निधन भएको थियो । आठ सय ७६ पृष्ठ रहेको सो ग्रन्थमा कुलप्रसाद उप्रेती, काजी श्रेष्ठ र प्रा डा सुरेन्द्र केसीलगायत २०६ जनाको लेख समावेश छ ।
कार्यक्रममा वरिष्ठ नेता नेपालले साँवाका सपना पूरा गर्ने गरी नेकपा नेतृत्वको सरकारले बेरोजगारी अन्त्य गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “योद्धा साँवा राष्ट्रप्रति इमान्दार र परिवर्तनप्रति सङ्कल्प भएको जनताको प्रिय नेता हुनुहुन्थ्यो ।”
नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवाषचन्द्र नेम्वाङले साँवाले देश र जनतालाई पु¥याएको योगदानबाट नयाँ पुस्ताले सिक्दै देशको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (माले) का महासचिव सिपी मैनालीले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउँदै शहीदको सपना पूरा गर्नेतर्फ अग्रसर हुन सरकारसँग आग्रह गर्नुभयो ।
