कविताका माध्यमबाट कला, संस्कृति र अनुभव साटासाट
काठमाडौँ, २६ असोज : विदेशमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकहरुले नेपाल र हाल आफू बसोबास गर्ने देशका कला, संस्कृति र अनुभव एकापसमा तथा नेपालमा बसोबास गर्ने कविहरुसँग साटासाट गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घ (एनआरएन), भाषा साहित्य उपसमितिले आज आयोजना गरेको ‘अन्तरदेशीय नेपाली कविता’ विषयक विमर्श तथा कवि गोष्ठी’ कार्यक्रममा उहाँहरुले आफ्ना अनुभव कविताका माध्यमबाट साट्नुभएको हो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कामका सिलसिलामा विदेशमा रहेका नेपाली कला, साहित्य र भाषाको उत्थानमा सक्रिय रहँदै आएको बताउनुभयो । प्रतिष्ठान वर्षेनी सङ्घको सम्मेलनकै पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गर्दै आएको छ ।
उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमको आयोजनाले नेपालमा बसोबास गर्ने कवि र आप्रवासीबीचमा कविबीच कविताका भावनाको साटासाट हुन्छ ।” प्रतिष्ठानका काब्य विभाग प्रमुख डा हेमनाथ पौडेलले विदेशमा बस्ने नेपालीहरुले भाषा र साहित्यमा योगदान पु¥याइरहेको बताउनुभयो । विदेशमा पनि गाउँगाउँमा पुग्दासमेत नेपाली भेटिने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरु त्यहाँ रहेर पनि निरन्तर भाषा र साहित्यको उत्थानमा लागि रहनुभएको छ ।” समालोचक डा गोविन्दराज भट्टराईले नेपाली साहित्यमा ‘डायास्पोरा’ को योगदानका बारेमा चर्चा गर्नुभयो । उहाँका अनुसार प्रवासमा रहेका धेरै नेपाली साहित्यकारले कला र साहित्यको विकासमा योगदान गरिरहेका छन् । उहाँले भन्नुभयो, “प्रवासका धेरै नेपालीको सङ्घहरु प्रकाशित भइरहेको पाइन्छ ।”
सो कार्यक्रममा रुसका कथा र कविता सङ्ग्रहको नेपाली अनुवाद ‘नेपाली साहित्य संगम’, नाज सिंहको कविता सङ्ग्रह ‘तिर्खा’ र सुरेन्द्र नेपाल श्रेष्ठको कविता सङ्ग्रह ‘मेरा आधा सताब्दी’ को बिमोचन गरिएको छ । कार्यक्रममा नेपाली र आप्रवासी गरेर २९ कविहरुले कविता वाचन गरेका थिए ।
