धुलो रोक्ने महानगरको अभियानमा जनप्रतिनिधिकै अवरोध
काठमाडौँ, १९ असोज : काठमाडौँ खुलामञ्चस्थित अस्थायी बसपार्कमा अत्यधिक धुलो उडेपछि त्यसलाई रोक्न शुरु भएको कालोपत्रे र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध गरिएको छ ।
नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधान, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र वडा नं २८ का वडाध्यक्ष भाइराम खड्गीकै उपस्थितिमा काममा अवरोध गरिएको हो । दुई पक्षीय विवादका कारण अहिले यहाँको काम रोकिएको छ भने ढलान गरिएको ठाउँमा गाडी कुदाएर क्षति पु¥याइएको छ ।
धुलो रोक्ने उद्देश्यले गत बुधबारको महानगरको निर्णयअनुसार गाडीको चाप हुने ठाउँमा ढलान र अन्य क्षेत्रमा कालोपत्रे गरेर धुलो रोक्न जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सलाई जिम्मा दिइएको महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो ।
चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको तयारीका क्रममा काठमाडौँका मुख्य क्षेत्रमा सजावट र कालोपत्रेलगायतको काम जारी छ । सोही क्रममा खुलामञ्चबाट धुलो उडेर आसपास क्षेत्र प्रभावित हुने भएकाले अस्थायी समाधानका लागि यहाँ काम गर्न लागिएको थियो तर जनप्रतिनिधिकै उपस्थितिमा उक्त काममा अवरोध गरिएको हो ।
सो विषयमा महानगरका उपप्रमुख खड्गीले कालोपत्रे मात्रै गर्ने भनिए पनि रड नै राखेर ढलान गरिएकाले स्थानीय जनता विरोधमा उत्रिएपछि आज बिहान आफू त्यहाँ पुगेको र असन्तोष देखिएकाले तत्कालका लागि ढलान रोक्न भनिएको बताउनुभयो । “हामीलाई पनि यो विषयमा जानकारी थिएन, कुराकानीका क्रममा मेयर ज्यूले कालोपत्रे गर्न लागिएको छ भनेर जानकारी दिनुभएको थियो, हेर्न जाँदा ढलान नै गरेको देखिएपछि स्थानीयले अवरोध गरेका हुन्”, खड्गीले रासससँग भन्नुभयो ।
उहाँले कालोपत्रे मात्रै गरिएको भए समस्या नआउने भन्दै ढलान गर्न खोज्दा समस्या आएको बताउनुभयो । यस क्रममा आज बिहान यहाँ लगाइएको बारसमेत भत्काइएको छ भने भर्खरै ढलान गरिएको स्थानमा गाडी गुडाएर क्षति पु¥याइएको छ ।
महानगरपालिका–२८ का अध्यक्ष भाइराम खड्गीले आफ्नै वडामा हुन लागेको कामको विषयमा आफूलाई नै जानकारी नभएको बताउँदै स्थायीरूपमै सिमेन्ट ढलान गर्न लागिएको पाइएकाले अवरोध भएको बताउनुभयो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले कालोपत्रे गर्ने ठाउँमा डण्डी राखेर ढलान गरेको भन्दै विवाद निस्किएको देखिएको बताउनुभएको छ । प्रहरीका अनुसार अवरोधका क्रममा खुलामञ्चमा जनप्रतिनिधिसहित सम्पदा संरक्षण अभियानका प्रतिनिधि सहभागी भएका थिए ।
अवरोध नगर्न प्रमुख शाक्यको आग्रह
काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरुपमा शुरु गरिएको कालोपत्रमा अवरोध गरिएकामा दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले त्यस क्षेत्रमा अत्यधिक धुलो उडेको र आफ्नो धुलोमुक्त काठमाडौँको अभियान जारी रहेको स्थितिमा त्यहाँ कालोपत्र र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध हुनु दुःखद भएको बताउनुभयो ।
सांसद भीमसेनदास प्रधान, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र वडा नं २८ का वडाध्यक्ष भाइराम खड्गीको उपस्थितिमा आइतबार त्यहाँको काममा अवरोध भएको थियो । दुई पक्षीय विवादका कारण अहिले यहाँको काम रोकिएको छ भने ढलान गरिएको ठाउँमा गाडी कुदाएर क्षति पु¥याइएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका क्रममा काठमाडौँका मुख्य क्षेत्रमा सजावट र कालोपत्र लगायतको कामले. तीव्रता पाएसँगै खुलामञ्चको बसपार्कमा पनि कालोपत्र गर्न लागिएको हो ।
“हामीले त्यहाँ स्थायी संरचना बनाउन खोजेका होइनौँ, हामी अहिले होइन पहिलादेखि नै त्यो अस्थायी बसपार्क हो भनिरहेका छौँ”, डेङ्गुको आशङ्कामा अस्पतालमा उपचाररत प्रमुख शाक्यले भन्नुभयो, “मैले उपप्रमुखसँग सल्लाह गरेर नै त्यहाँ अस्थायी रुपमा कालोपत्रको प्रक्रिया अघि बढाउन भनेको हुँ । तर त्यहाँ विषयवस्तुलाई अनावश्यक रुपमा उचालेर राजनीति गर्ने काम भएको खबर सुन्दा दुःख लागेको छ ।”
शाक्यले धुलोमुक्त काठमाडौँ अभियानमा आफू निरन्तर लागिरहेको भन्दै महानगरको फोहर र धुलोमा राजनीति गर्ने गरेका कारण समस्या भएको बताउनुभयो । “हामीले महानगरभित्रका सडक जति नै सफा र चिल्ला बनायौँ भने पनि बसपार्कबाट निस्कने धुलो र हिलोका कारण ती सडकको अवस्था उस्तै हुन्छ”, उहाँले भन्नुभयो, “हामीले त्यही भएर अस्थायी रुपमा त्यहाँ कालोपत्र गर्नु भनेका हौँ । तर, माननीयज्युहरुले विषयवस्तुलाई अन्तै लगेर त्यहाँ अवरोध गर्नुभएछ । त्यो राम्रो होइन ।”
उहाँले अहिले महानगरपालिकाकै पहलमा तीनकुनेमा पनि आइल्यान्ड बनाउने काम भइरहेको भन्दै अन्य ठाउँको पनि सजावटको काम अघि बढेको बताउनुभयो । “तीनकुनेमा पनि हामीले अस्थायी रुपमै आइल्यान्ड बनाएका हौँ”, उहाँले भन्नुभयो, “विदेशी पाहुना आउँदा मात्र होइन हामीले दैनिक ओहोर–दोहोर गर्दा पनि त्यहाँ हिलो र धुलोको सामना गर्नुपर्ने हुन्थ्यो । कम्तीमा पनि त्यहाँ आइल्यान्ड बनेपछि हेर्न लायकको हरियाली बन्नेछ । फेरि विदेशी पाहुना आउँदै पिच्छे कहिले टिनका जस्ता त कहिले फ्लेक्सले छोप्नुपर्ने बाध्यता पनि हटेको छ ।”
काठमाडौँ महानगरपालिका पहिलादेखि नै काठमाडौँ महानगरभित्रका खाल्टाखुल्टी पुर्ने, धुलो हटाउनेलगायतका अभियानमा निरन्तर लागिरहेको थियो । चिनियाँ राष्ट्रपति चिनफिङ नेपाल आउने र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर अन्य निकायले समेत चासो देखाएपछि काठमाडौँका सडक थप चिल्ला र खाल्टाखुल्टी मुक्त बन्न थालेका हुन् ।
