सभामुख रिसको झोकमा पर्नुभयोः आरोपकर्ता 

अशोक घिमिरे । काठमाडौँ, १४ असोज : सभामुख कृष्णबहादुर महरामाथि दुव्र्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीले आफू लामो समयदेखि ‘डिप्रेसन’मा रहेको बताएकी छन् । सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले आफू चारपाँच वर्षदेखि मानसिक समस्यामा रहेको र चिकित्सकको सल्लाहबमोजिम तीन वर्षदेखि लगातार ‘डिप्रेसन’को औषधि सेवन गर्दै आएको बताइन् । “मेरी आमाको निधन भएपछि म मानसिक रुपमा कमजोर भएको छु । निद्रा नलाग्ने भएपछि औषधि खानुपर्ने स्थिति थियो”, उनले भनिन् । चिकित्सकले बिहान र बेलुकी एकएक ओटा चक्की औषधि खान सुझाव दिए पनि रिस उठेमा आफूले कहिलेकाहीँ एकै चोटि पाँचछ तथा दश वटा पनि औषधि खाइदिने गरेको उनले सुनाइन् ।

आवेगका क्रममा कसलाई फोन गरेँ, कसलाई के भनेँ, के बोलेँ भन्ने नै पत्तो नपाउने उनको भनाइ छ । “शायद मेरो यही रिसको झोकमा सभामुख पर्नुभएको होला”, उनले भनिन् । “कहिलेकाहीँ कोहीकसैसँग रिस उठ्यो भने औषधिको मात्रा बढी खाइदिने मेरो समस्या हो । एक्कासि औषधिको मात्रा बढाएपछि अत्यन्त रिस उठ्ने, कसलाई के भन्ने नै थाहा नहुने समस्या छ । कसलाई फोन गरेँ, कसलाई के गरेँ भन्ने नै थाहा पाउँदिन”, उनले भनिन् । केही वर्षअघि स्वयं आफू पनि सञ्चारकर्ममा रहेको सन्दर्भ पेश गर्दै उनले अहिले सञ्चारमाध्यमले ‘हाइलाइट’ हुने नाममा कोहीकसैलाई दोषी करार गर्न लागिपरेको देख्दा आफू अचम्मित भएको समेत बताइन् ।

“सम्मानित पदको पछाडि रहने व्यक्तिलाई प्रयोग गरेर पदच्यूत गराउने र आफू त्यो स्थानमा स्थापित हुने कारणले पनि यस विषयलाई अनावश्यक उचालिएको हो”, उनले भनिन्, “बाबु समानको मान्छेसँग आफ्नो सम्बन्धलाई अनावश्यक रुपमा जोडेको देख्दा म छक्क छु ।”

आफूले सभामुखलाई सधैँ अभिभावकका रुपमा हेर्ने गरेको उल्लेख गर्दै उनले आफूहरुको पारिवारिक सम्बन्ध रहेको पनि बताइन् । “विसं २०४७ देखि नै हामी महरा सरलाई चिन्छौँ । हाम्रो परिवारिक सम्बन्ध रहेको छ । सभामुख भएपछि मात्र हाम्रो चिनजान भएको होइन”, उनले भनिन् । आफूले महरालाई बुवासमान ठानेको जनाउँदै उनले बाबु र छोरीबीच अनैतिक सम्बन्ध हुनै नसक्ने बताइन् । “समाजले बाबु र छोरीबीच भिन्नता ठान्न सकेन”, अचम्म प्रकट गर्दै उनले भनिन्, “निर्दोष व्यक्तिको पछाडि अनावश्यक हल्ला फैलाइयो । यस विषयमा उहाँको कुनै दोष नै छैन ।”

ताकेता गर्दा पनि लिखित उजुरी आएन : प्रहरी

नेपाल प्रहरीले सभामुखबाट राजीनामा दिनुभएका कृष्णबहादुर महरामाथि दुव्र्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीलाई पटकपटक ताकेता गर्दा पनि अहिलेसम्म लिखित उजुरी दिन नआएको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले लिखित उजुरी नपरेकाले मौखिक उजुरीकै आधारमा प्रारम्भिक अनुसन्धान भने चलिरहेको बताउनुभयो ।

“लिखित जाहेरीका लागि प्रहरीले ताकेता ग¥यो, अहिलेसम्म आएको छैन तर जानकारी आउनेबित्तिकै प्रहरीले आइतबार रातिदेखि नै अनुसन्धान गरिरहेको छ”, सुवेदीले भन्नुभयो । उहाँका अनुसार आइतबार राति ९ः०५ बजे प्रहरीको नियन्त्रण कक्षमा रहेको १०० नम्बरमा फोनमार्फत मौखिक जानकारी प्राप्त भएको थियो । सोही जानकारीका आधारमा रातिदेखि नै घटनाबारे अनुसन्धान भइरहेको र घटनामा जोडिएका सबै वस्तु सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले प्रारम्भिक अनुसन्धान भइरहे पनि लिखित उजुरी नआएसम्म अन्य प्रक्रिया अगाडि बढ्न समस्या हुने बताउनुभएको छ । सोमबार विभिन्न सञ्चारमाध्यममा महराले आफ्नो कोठामै आएर दुव्र्यवहार गरेको जनाउँदै ती महिलाको नाम जोडेर समाचार प्रकाशन भएको थियो । दुव्र्यवहार गरिएको आरोप लगाउने ती महिला कर्मचारीले आज भने आफैँले घटनाको खण्डन गर्दै आफूले डिप्रेसनको औषधि खाइरहेको र आवेगमा के बोलेँ आफूलाई नै पत्तो नभएको भनी बताएकी छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले रिसको झोँकमा सभामुख महरा परेको उल्लेख गरेकी छन् । अडियोमा उनले आफ्ना बाबु समानको मान्छेसँगको सम्बन्धलाई अनावश्यक रुपमा जोडेको र उचालेको जिकिर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.