टोनी हेगनको तस्बिर सङ्ग्रह विमोचन 

काठमाडौँ, १० असोज : विश्वविख्यात भूगर्भशास्त्री डा टोनी हेगनले खिच्नुभएका तस्बिरहरुको सङग्रह ‘टोनी हेगनः फोटोज अफ काठमाडौँ भ्याली’ (१९५०—१९६०) को आज काठमाडौँमा विमोचन गरिएको छ ।

नेपाल सम्पदा सङ्घले उक्त पुस्तक प्रकाशन गरेको हो । हेगनले नेपाल भ्रमणका क्रममा सन् १९५० देखि १९६० सम्म खिच्नुभएका तस्बिरहरु सो पुस्तकमा समावेश गरिएको छ । पुस्तकमा तत्कालीन काठमाडौँ, ललितपुर र भक्तपुरको शहरी तथा स्थानीय जनजीवन, सम्पदा र संस्कृतिका विविध पक्ष तथा राणाकालीन भौतिक पूर्वाधार आदि विषयलाई क्यामेरामा कैद गरिएको सामग्री समेटिएको छ । हेगनको फोटोग्राफीसम्बन्धि यो पहिलो पुस्तक हो । पुस्तकको हेगनकी छोरी डा कट्रिनले सम्पादन गर्नुभएको छ ।

विश्व पर्यटन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमबीच युरोपेली सङ्घ (ईयू) का राजदूत भोरोनिका कोडीले सो पुस्तकको विमोचन गर्नुभयो ।

सङ्घका अध्यक्ष अम्बिका श्रेष्ठले सम्पदा कुनै पनि मुलुकको साझा सम्पत्ति मात्र नभई पर्यटन प्रवद्र्धनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै चर्चित पदयात्री हेगनको फोटोग्राफीसम्बन्धी पुस्तकले नेपालको पर्यटन प्रवद्र्धनका साथ नजिकिएको भ्रमण वर्ष अभियानलाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

डा कट्रिन हेगनले आफ्ना पिता सबै नेपाल र नेपालीलाई माया गर्ने भएकाले नेपालको रहनसहन र जीवनशैलीलाई समेट्न हजारौँ तस्बिर सङ्कलन गर्नुभएको र त्यसमध्येको यो केही तस्बिर समेटिएको पुस्तकले नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सन् १९५० अक्टोवर २४ मा पहिलो पटक नेपालको भूमि टेक्नुभएका टोनी हेगनले नेपालका ५७ (हालको ७७) जिल्लाका करीब ४० हजार किलोमिटर पैदल यात्रा सम्पन्न गरेको बताइन्छ ।

जन्मभूमि स्वीटजरल्याण्ड भए पनि आफ्नो जीवनको धेरै समय नेपालमा बिताउनुभएका हेगनले सगरमाथा नेपालमा छ भनेर विश्वमा चिनाउनुभएको थियो । नेपालमा स्वीस सहयोग भित्र्याउन पनि उहाँको अतुलनीय योगदान छ । हेगनको ८५ वर्षको उमेरमा सन् २००३ को अप्रिल १८ मा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.