चार पुस्तक एकैसाथ लोकापर्ण

काठमाडौँ, १० असोज : काठमाडौँमा तीन लेखकद्वारा रचित चार पुस्तकको आज एकैसाथ लोकापर्ण गरिएको छ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा प्रा गोपीकृष्ण शर्माको ‘महिमा’ (खण्डकाव्य), साहित्यकार निर्मलरमण पराजुलीको ‘देश लेख्न हतार छ’ (कवितासङग्रह) तथा साहित्यकार भुवन शिवाकोटीको ‘नच्यातिएको आकाश’ र ‘प्रणयको गहिराइ’ (कवितासङ्ग्रह) एकैसाथ लोकार्पण गरियो ।

सो अवसरमा शिवाकोटीको ‘अतुलनीय प्रीत गरेँ’ र ‘बहुल जातिको मातृभूमि यो’ बोलको गीतसमेत सार्वजनिक गरिएको थियो । पुस्तक विमोचनपछि कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार बैरागी काईँलाले एउटा व्यक्तिको दुःखसुख समेटिएको सिर्जना समाजका लागि हितकारी हुनुपर्ने उल्लेख गर्दै भन्नुभभयो, “साहित्य भनेको सह¬हित हो, त्यो पढ्दा पाठकको पीडा कम हुन सक्यो भने मात्रै साहित्य हुन्छ ।”

प्राध्यापक शर्माको ‘महिमा’ खण्डकाव्यबारे जानकारी दिँदै प्रतिष्ठानका महासचिव डा लेखप्रसाद निरौलाले पूर्वीय साहित्य सिद्धान्तको लक्षण हुबहु समेटिएको दाबी गर्नुभयोे । त्रियासी वर्षीय लेखक शर्माका एकल र संयुक्त गरी १८ कृति प्रकाशन भइसकेका छन् । पुस्तक एउटै लयात्मक विधामा रहेको छ । खण्डकाव्यमा अनुष्टुप छन्दको चार सर्गमा लेखिएका १५७ श्लोक छ ।

विसं १९९३ मा जन्म भई २०३० सालदेखि काव्यसाधनामा लाग्नुभएका शर्माको खण्डकाव्य महिमाको बारेमा जानकारी दिँदै निरौलाले भन्नुभयो, “महिमामा विदेशीएका श्रीमान् कुलतमा फसेर उतै देहावसान हुँदा एउटी नारीले पाएको दुःख, उनले गरेका सङ्घर्ष र सफलताको कथा समेटिएको छ ।” लेखक शर्माले नारी शक्तिबारे नयाँ सोच आएर खण्डकाव्य लेखेको बताउनुभयो । दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा भएको कार्यक्रममा डा भागवत ढकालले ‘नच्यातिएको आकाश’, डा शारदा प्रतीक्षा र डा रामप्रसाद ज्ञवालीले ‘देश लेख्न हतार छ’ पुस्तकको समीक्षा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.