‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ लोकार्पित

अर्जुन भुसाल । काठमाडौँ, ६ असोज : ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ को लोकार्पण गरिएको छ । राष्ट्रकवि माधव घिमिरकोे १०१औँ जन्मोत्सवको अवसरमा एक सय एक कविद्वारा उहाँको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको कविता सङ्ग्रहको नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले लोकार्पण गर्नुभयो ।

उहाँले राष्ट्र घिमिरेले नेपाली साहित्यको विकासमा पु¥याएको योगदानलाई चिरकालसम्म पनि स्मरण गर्नुपर्ने भन्दै उहाँका सिर्जनाबाट पाठ सिक्दै लेखन कार्यलाई अघि बढाउनुपर्ने बताउनुभयो । “राष्ट्रकवि घिमिरे एक शताब्दी पूरा गरी दोस्रो शताब्दीमा प्रवेश गर्नुभएको छ” उहाँले भन्नुभयो, “राष्ट्रलाई योगदान गर्ने व्यक्ति लामो समयसम्म जीवित रहनु निकै खुशीको कुरा हो ।”

उहाँले घिमिरेको आशिर्वाद मात्र पाए पनि साहित्यकारहरुलाई लेखनमा ऊर्जा मिल्ने भएकाले राष्ट्रकविलाई अनुशरण गरी अघि बढ्न सुझावसमेत दिनुभयो ।

राष्ट्रकवि घिमिरेले पुस्तक प्रकाशन गरी आफ्नो जन्मदिनलाई विशेष बनाइदिएकामा नेपाली शिक्षा परिषद् र कविता सिर्जना गर्ने कविलाई धन्यवाद दिनुभयो । “अब नेपाली साहित्यलाई फुलाउने, फलाउने जिम्मा यहाँहरुको हो” उहाँले भन्नुभयो, “उमेर अवस्थाले गर्दा अब लेखन कार्यमा अघि बढ्न सक्दिन ।” उहाँले नेपाली साहित्यलाई समयसापेक्ष ढङ्गले परिस्कृत गर्दै लैजान लेखकलाई आग्रह गर्नुभयो ।

परिषद्का कोषाध्यक्ष भीमबहादुर अधिकारी, सदस्य–सचिव रमा शर्मालगायतले मन्तव्य राख्दै घिमिरेलाई नेपाली साहित्यको धरोहरका रुपमा चित्रित गर्नुभयो । कार्यक्रममा करीब ५० जना कविले घिमिरेको कृतित्व, व्यक्तित्व र जीवनीमा आधारित कविता वाचन गर्नुभएको थियो । पुस्तकमा समावेश भएका अधिकांश कविता वर्णमात्रिक छन्दका र केही लोकलयका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.