स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा पोखरेल नियुक्त
काठमाडौँ, ३१ भदौ : स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा वरिष्ठ चिकित्सक रोशन पोखरेल नियुक्त हुनुभएको छ । सोमबारको मन्त्रिस्तरीय निर्णयबाट ११औँ तहमा कार्यरत वरिष्ठ मनोचिकित्सक पोखरेललाई सो पदमा नियुक्त गरिएको हो ।
निवर्तमान महानिर्देशक सुशीलनाथ प्याकुरेलले भदौ २१ गतेदेखि उमेरहदका कारण अवकाश लिनुभएको थियो । महानिर्देशक पदमा १२औँ तहको चिकित्सक हुनुपर्ने प्रावधान छ । एघारौँ तहका वरिष्ठतम् भएकाले पोखरेललाई महानिर्देशकको जिम्मेवारी दिइएको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उहाँ लामो सयमदेखि विराटनगरस्थित कोशी अञ्चल अस्पतालको निर्देशक पदमा कार्यरत हुनुहुन्थ्यो ।
ऐनअनुसार नै मेरो नियुक्ति : प्रा डा गिरी
चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले आफ्नो राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार नै योग्यता र अनुभव पुगेको बताउनुभएको छ । आयोगको योग्यताअनुसार चिकित्सा विषयमा स्नातकोत्तर तहमा चारवर्षे अध्ययन र चीनबाट एकवर्षे चिकित्सा विषयमा ‘पोष्ट ग्र्याजुएट’ गरेको गिरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा दश वर्षभन्दा बढी प्राध्यापन पेशामा अध्यापन तथा अनुसन्धान तथा हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सेवारत रहेको जानकारी दिनुभएको छ ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यमा आफ्नो योग्यताका सम्बन्धमा गलत प्रचार गरिएको गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । “चिकित्सा आयोगजस्तो नियमनकारी निकाय उच्च मनोबलका साथ आफ्ना कार्यलाई अगाडि बढाउने बाटोमा लागेको छ”, विज्ञप्तिमा भनिएको छ । सरकारले केही दिन अघि आयोगको उपाध्यक्षमा प्रा डा गिरीलाई नियुक्त गरेको हो ।
