मोयो–नियोविटको आधुनिक उपकरणको प्रयोग शुरु
धम्बोझी, ३० भदौ : भेरी अस्पतालमा नवजात शिशु बचाउनका लागि गुणस्तरीय सेवाको बच्चाको मुटुको धड्कन नाप्ने यन्त्र (मोयो) तथा गर्भवस्थ शिशुको परीक्षण गर्ने (नियोविट)को थालनी गरिएको छ ।
शिशु मृत्युदर उच्च रहेपछि अस्पतालले शिशु मृत्युदर घटाउन अस्पतालले आजदेखि यो सेवा विस्तार गरेको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा रुपानन्द अधिकारीले जानकारी दिनुभयो ।
नेपालमा हरेक वर्ष ११ हजार शिशु मृत अवस्थामा जन्मन्छन् । करीब १३ हजार नवजात शिशु जन्मेको एक महीना नपुग्दै मर्ने गर्छन् । यी मृत्युमध्ये ५० प्रतिशत प्रशव अवधिमा हुने गर्छ । भेरी अस्पतालको तथ्याङ्कमा हजार शिशुमा २४ जना अस्पतालमा मृत्यु हुने गरेको डा अधिकारीको भनाइ छ ।
बाँकेमा कम उमेरका आमाले जन्माएको शिशुको मृत्युदर बढ्दै गएको, कम समयमा कम तौलको बच्चा हुने कम उमेरमै आमाहरुले बच्चा जन्माउँदा रगत बढी बग्दा शिशु र आमाको मृत्यु बढी हुने जिल्लाहरुमा अभियान शुरु गरिएको मेडिकल अफिसर ईश्वरी केसीले बताउनुभयो ।
यो उपकरण ग्य्राण्ड च्यालेन्जेस क्यानडा र ल्याडरल हेल्पिीङसेभ लाइभजको आर्थिक तथा प्राविधिक सहयोगमा प्राप्त भएको हो ।
शिशु मृत्यु दर घटाउनको लागि यो सेवा शिशु स्वास्थ्यको गुणस्तर अभिवृद्धि गर्ने कार्यका लागि शिशु बचाउ अभियान गत वैशाखदेखि देशका आठ जिल्लाका एक÷एकवटा सरकारी अस्पतालमा लागू गरिएको छ ।
धेरै प्रसूति हुने आधारमा कोशी अस्पताल, जनकपुर अञ्चल अस्पताल, भरतपुर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल कर्णाली, सेती अञ्चल अस्पताल र डडेलधुरा अस्पतालमा शिशु बचाउ अभियानअन्तर्गत यो उपकरण प्रयोग हुने गरेको छ ।
