विदेशी पाहुनाले गरे जात्रा र सम्पदाको अवलोकन

काठमाडौँ, २९ भदौ : पहिलो पटक इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुनाले काठमाडौँ उपत्यकाका विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेका छन् । काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा बिहीबार काठमाडौँ आएका विभिन्न देशका नगरप्रमुख र उपप्रमखसहितको टोलीले गत शुक्रबार वसन्तपुर तथा त्यस आसपासका भित्री शहरको, शनिबार स्वयम्भू र चन्द्रागिरिको अवलोकन गरेका छन् ।

त्यसैगरी आज पाटनको सङ्ग्रहालय, कृष्ण मन्दिर र भक्तपुरको पचपन्न झ्याले दरबारको अवलोकन गरेका छन् । जात्रा अवलोकन गर्न चीन, भारत, अमेरिका, भुटान र जापानबाट प्रतिनिधि आएका छन् । महानगरको निमन्त्रणामा इन्द्रजात्रा अवलोकन गर्न पाँच देशका ११ शहरबाट ४१ जना पाहुना आउनुभएको थियो ।

विदेशी नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई विभिन्न स्थानको अवलोकन गराउने क्रममा कामपाका प्रमुख विद्या सुन्दर शाक्यले जात्रा पर्व र विभिन्न सम्पदाहरुको जानकारी विदेशी पाहुनालाई गराउन पाउनु राष्ट्रकै लागि खुसीको कुरो भएको बताउनुभयो । समय छोटो भएकाले धेरै क्षेत्रलाई समेट्न नसकिएको बताउँदै उहाँले भन्नुभयो, “फरक भूगोल र परिवेशबाट आउनुभएका पाहुनाले हाम्रा सम्पदाको रुचीपूर्वक अवलोकन गर्नुभएको छ ।”

विदेशी पाहुनाले पनि नेपाललको संस्कार र सम्पदाहरु हेर्न लायक रहेका भन्दै आगामी दिनमा पनि आउने बताएका जनाइएको छ । पाहुनाले वसन्तपुरको बःबही, ब्रह्मचक्रमहाबिहार, मञ्जुश्रीनक महाबिहार, ओमबहाल, थानबहा, भीमसेन मन्दिर, सिंहसत्तल, काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, जनबहाल, आकाश भैरव अवलोकन गरेका छन् ।

यसअघि पनि नेपाल आएको बताउँदै भुटानको थिम्पू नगरका प्रमुख किन्ले दोर्जीले स्थिर सरकार रहेकाले दिगो विकासको शुरुआत भएको भन्दै आगामी दिनमा झन पर्यटकीय गन्तव्य राम्रा हुने बताउनुभयो । “संस्कृतिले मान्छेलाई सामाजिकीकरण हुन पनि सघाउछ”, प्रमुख दोर्जीले भन्नुभयो, “नेपालमा संस्कृति र सम्पदाको थप संरक्षाण गर्न आवश्यक छ ।” पाँच दिनको भ्रमणमा आएका पाहुना सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

भक्तपुरको सम्पदा अवलोकन

ऐतिहासिक सम्पदाको अवलोकन गर्न काठमाडौँ महानगरपालिकाको निमन्त्रणमा आएको विदेशी टोलीले भक्तपुरको सम्पदाको अवलोकन गरेको छ । उक्त टोलीले आज भक्तपुरको विश्व सम्पदा क्षेत्रमा पर्ने दरबार क्षेत्रलगायतको अवलोकन भ्रमण गरेको हो ।

चीनको ‘लाञ्जााउ कमिटी अफ द सिपिपिसिसी’का उपाध्यक्ष ज्याङ् सिओहाङले नेपाल भ्रमणबाट आफूहरु उत्साहित भएको बताउनुभयो । “नेपाल कला, संस्कृति र सम्पदाको धनी देश रहेछ, काठमाडौँ बसाइ रमाइलो भयो, इन्द्रजात्रामा नेपाली जनताको उत्साह तथा नेपालीको सम्पदाप्रतिको सम्मान देखेर म निकै प्रभावित भएँ”, उहाँले भन्नुभयो । उहाँले आफूले यहाँको सांस्कृतिक सम्पदाबारे सुनेको तर यहाँ आएर हेर्दा निकै प्रभावित भएको बताउनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसँगै चन्द्रागिरिको अवलोकन भ्रमणपछि सिओहाङ नेतृत्वको टोलीले स्वयम्भूको समेत अवलोकन भ्रमण गरेको थियो ।

यस्तै भक्तपुरको अवलोकन भ्रमणमा आउनुभएका भारतको उत्तरी दिल्ली नगरपालिकाका प्रमुख सरदार अवतार सिंहले नेपालको प्राकृतिक सम्पदाबाट प्रभावित भएको बताउनुभयो । उहाँले यहाँका सम्पदाबारे आफ्नो नगरका बासिन्दालाई जानकारी गराउने बताउनुभयो । “पर्यटन वर्षमा नेपाल भ्रमण गर्न सन्देश प्रवाह गर्छु”, उहाँले भन्नुभयो । विज्ञान सङ्ग्रहालयको अवलोकनपछि आफू झन प्रभावित भएको भन्दै सिंहले नेपाल भ्रमण वर्ष २०२० को सफलताको कामना गर्नुभयो ।

यस्तै भुटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जीले नेपाल सम्पदा संरक्षण र विकासको गतिमा अघि बढेको भन्दै खुशी व्यक्त गर्नुभयो । यहाँको संस्कृतिबाट आफू प्रभावित भएको दोर्जीले बताउनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित विदेशी पाहुनाले भक्तपुरको सांस्कृतिक सम्पदाको भ्रमण गर्नुभएको हो । प्रमुख शाक्यले यहाँको पर्यटन क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न र इन्द्रजात्रालाई विश्वसामू चिनाउने उद्देश्यले विदेशी पाहुनालाई आमन्त्रण गरिएको बताउनुभयो । “विदेशी पाहुनाको भ्रमणले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्छ” उहाँले भन्नुभयो । विदेशी टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख सर्जनी जोशीसहितको टोलीले स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.