भाषिक पृष्ठभूमिअनुरुपका बाल सामग्री उपयुक्त हुने
काठमाडौँ २६ भदौ : नेपाल–प्रज्ञा प्रतिष्ठान बालसाहित्य र लोकवार्ता विभागको आयोजनामा बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र विम्ब छनोट विषयक विचार गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा ‘बाल प्रज्ञा’ अर्धवार्षिक बालपत्रिका तथा ‘प्रज्ञा नेपाली बालकथा’ कृतिको लोकर्पणसमेत गरियो ।
कार्यक्रममा प्राध्यापक डा ऋषिराम शर्माले कार्यपत्र प्रस्तुत गर्दै बाल पाठकलाई लक्षित गरी रचिएका सौन्दर्यपूर्ण भाषिक अभिव्यक्ति नै बालसाहित्य भएको बताउनुभयो । उहाँले वयस्कका लागि लेखिने साहित्य र बालसाहित्यमा धेरै विषयमा भिन्नता हुने भन्दै वयस्क साहित्यमा विचारको सम्पादन नहुने बताउनुभयो । “बाल साहित्यमा विचार प्रमुख कुरा हो”, उहाँले भन्नुभयो, “बालसाहित्यमा विचारलाई प्रमुख बनाएर कला, शैली, भाषा लेखिन्छ ।” उहाँले बालसाहित्यमा प्रयोग गरिने भाषा बालबालिका केन्द्रित र साधारण हुनुपर्ने औँल्याउनुभयो ।
प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बालबालिकालाई भाषिक पृष्ठभूमिअनुरुपको बालसाहित्य सामग्री उपयुक्त हुने बताउनुभयो । “मातृ भाषामा दिइएको बालसाहित्य बढी प्रभावकारी हुन्छ”, उहाँले भन्नुभयो, “मातृ भाषामा दिँदा थोरै समयमा धेरै कुरा सिकाउन सकिन्छ ।” उहाँले बालसाहित्यमा बालबालिकाले अनुभूत गरेका देखेका भागेका विषयलाई बाल साहित्यको विषय बनाइने बताउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले बालसाहित्यमा भाषा, विषय र विम्बको समुचित प्रयोग गरिनुपर्ने बताउनुभयो । “स्वतन्त्र बालसाहित्यको भाषामा आवश्यकताअनुसार कथ्य र अपूर्ण वाक्यहरु पनि रहन सक्छन्”, उहाँले भन्नुभयो, “बाल साहित्यको भाषा सरल र आकर्षक हुनु जरुरी हुन्छ ।”
बालप्रज्ञाको समीक्षा गर्दै डा रामप्रसाद ज्ञवालीले नेपाली बालसाहित्यमा समाजमा व्याप्त कुरीति, शोषण र भेदभावसँग सम्बद्ध विषय पनि प्रयोग हुँदै आएको बताउनुभयो । उहाँले परम्परागत रुपमा लेखिँदै आएको बालसाहित्य वर्तमान समयमा युगानुकूल बन्न पुगेको बताउनुभयो ।
कार्यक्रममा विभाग प्रमुख देवी नेपालले बालसाहित्य अमूर्त नभई दृश्य, भोग र प्रत्यक्ष सहभागितामूलक विषय छनोट गर्नुपर्ने बताउनुभयो । उहाँले बालसाहित्य क्षेत्रको विकासका लागि विभागले विभिन्न योजना तय गरेको बताउनुभयो । कार्यक्रममा प्राध्यापक डा धुव्र घिमिरे, रामप्रसाद पाण्डेलगायतले धारणा राख्नुभएको थियो ।
