नेटिभीको लोगो बनाउने पौभाः कलाका सिद्धहस्त जोशी
नारायण ढुङ्गाना । काठमाडौँ, १८ भदौ : पशुपतिनाथको मन्दिर, त्यसको अगाडि बीच भागमा दुई आँखासहितको स्वयम्भूको सुन्दर तस्बिर । त्यसको तल उड्दै गरेका पाँच परेवा । नेपालको प्रख्यात मन्दिरलाई जोडेर त्यसमा शान्तिको प्रतीक र सन्देशको बाहकका रुपमा परेवालाई कलाले भरेर बनेको नेपाल टेलिभिजनको लोगो हेर्दा आफैँमा सुन्दर देखिन्छ ।
सूचना र सञ्चारको प्रतिनिधित्व गर्ने २०४१ सालमा बनेको उक्त लोगो जुन आज हामीले सधैँ समाचार या कार्यक्रमको शुरुमा देखिरहेका छौँ, उनै पौभाः चित्रकार दीपककुमार जोशीले बनाउनुभएको हो । त्यो लोगो अहिले सबैमाझ जीवन्त बनेर बसिरहेको छ, उहाँका परम्परागत चित्र स्वदेश र विदेशमा नेपालीपनको सन्देश छरिरहेको छ । तर आज उहाँ भने हामीमाझ रहनुभएन । उहाँले प्रतिस्पर्धामा उत्रिएरै नेपाल टेलिभिजनले लोगो बनाउनुभएको थियो ।
“सञ्चारको क्षेत्रमा नयाँ युग, शान्ति र सूचनाको बाहकका रुपमा इङ्गीत गर्दै उहाँले नेपाल टेलिभिजनको लोगो बनाउनुभएको हो, आज पनि लोगोले ठूलो सन्देश दिइरहेको छ, तर लोगो बनाउने उहाँ रहनुभएन”, कलाकारसमेत रहनुभएका उहाँका भाइ शङ्करकुमार जोशीले सम्झँदै भन्नुभयो ।
त्यतिमात्रै होइन उहाँले नेपाल टेलिभिजनमा पौभाः कलासम्बन्धी कार्यक्रम सञ्चालन गरेर चित्र बनाउन धेरैलाई सिकाउने गर्नुहुन्थ्यो । फोक्सोको क्यान्सरबाट गएराति ५६ वर्षको उमेरमा जोशीको निधन भएको हो । उहाँ विगत दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । “क्यान्सर हुँदासमेत उहाँले चित्र बनाउन छाड्नुभएको थिएन, विगत तीन, चार महीनादेखि भने थला पर्न थाल्नुभयो र चित्र बनाउन सक्नुभएन”, भाई शङ्करले भन्नुभयो ।
सानै उमेरदेखि नै परम्परागत चित्रकलामा जोशी पोख्त हुनुहुन्थ्यो । पौभाः कलालाई अगाडि बढाउनमा उहाँको ठूलो योगदान थियो । उहाँलाई नेपाली कलाकार अन्तर्राष्ट्रिय चित्रकारका रुपमा सम्झन्छन् । कलाको प्रशिक्षक जोशीले अमेरिका, जापानलगायत देशमा गएर नेपाली चित्र बनाउने र प्रशिक्षण दिने गर्नुहुन्थ्यो । बुद्ध धर्मका बारेमा अध्ययन गर्नुभएका जोशी योगका प्रशिक्षकसमेत हुनुहुन्थ्यो ।
“उहाँको योगदान धेरै पौभाः कलामा थियो, लोगो डिजाइनमा पोख्त हुनुहुन्थ्यो, कार्टुन पनि बनाउनुभयो, ‘योङ्ग आर्टिष्ट ग्रुप’ले गाईजात्राका बेलामा गर्ने कार्यक्रम या पुस्तकमा उहाँले कार्टुन बनाउनुभएको स्मरण छ”, भाई शङ्कर सम्झनुहुन्छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रमेश खनाल पौभाः कलाका सिद्धहस्त जोशीलाई नेपालको गौरव गर्न लायक अन्तरराष्ट्रिय कलाकार हो भन्नुहुन्छ । जोशीले दुईपटक राष्ट्रिय कला पुरस्कार प्राप्त गर्नुभएको थियो भने नेपाल हस्तकला महासङ्घले उत्कृष्ट कलाकारको सम्मान प्रदान गरेको थियो । परम्परागत चित्रकला अन्तर्गतको पौभाः कला उहाँको मुख्य क्षेत्र हो ।
अर्का कलाकार तथा प्रतिष्ठानका प्राज्ञ सुष्मा राजभण्डारी जोशीका चित्र जापानलगायत अन्तर्राष्ट्रिय सङ्ग्रहालयमा सङ्ग्रहित रहेको बताउनुहुन्छ । परम्परागत चित्रकलाको एक समितिमा प्रेमनाथ चित्रकार अध्यक्ष रहँदा जोशी उपाध्यक्ष र आफू कार्यकारी सदस्य भएर काम गरेको अनुभव सुनाउँदै राजभण्डारीले परम्परागत चित्रकलाको मुर्धन्य व्यक्ति गुमाउँदा कला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो ।
नेपाल ललितकला पत्रकार समाज(सोफाज)ले उहाँको योगदानको स्मरण गर्दै अघिल्लो वर्ष आयोजना गरेको ‘कलाका कुरा’ कार्यक्रममा सहभागी भएर जोशीले पौभाः कलाका बारेमा राम्ररी बताउनुभएको थियो । सोफाजका अध्यक्ष केशवराज खनालले परम्परागत कलाकार भएर पनि कार्टुन बनाएको स्मरण गर्दै उहाँको एकल पौभाःकला प्रदर्शनीसमेत भएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनवी गुरुङ वरिष्ठ कलाकार जोशीका कलाबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न पाएको बताउनुहुन्छ ।
चार दाजुभाइमध्येका माइलो जोशीका एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज दिउँसो नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । सो क्रममा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उहाँको पार्थिव शरीरमा प्रतिष्ठानको झण्डा ओढाएर सम्मान प्रदान गर्नुभएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
