भक्तपुरमा १२ जनालाई डेङ्गु

भक्तपुर, १५ भदौ : देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिनुभयो ।

भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको हो । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविभूषण सुवालले जानकारी दिनुभयो ।

यहाँ डेङ्गुको सङ्क्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको उहाँले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गत वर्ष तीन जनामा मात्रै डेङ्गु देखिएको र यस वर्ष डेङ्गु सङ्क्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा यसबारे जनचेतना फैलाउने अभियान शुरु गरिएको छ ।

कार्यालयले डेङ्गु सङ्क्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहर नगर्न र इन्सेक्टिसाइड छरेर डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

डेङ्गुविरुद्ध पदयात्रा

डेङ्गु रोगको सङ्क्रमण बढेपछि यसलाई रोक्न जनचेतनामूलक ¥याली प्रदर्शन गरिएको छ । नेपाल स्काउटले स्थानीय तदर्थ परिषद् भक्तपुर नगरपालिकाको सहयोगमा प्रदर्शन गरेको ¥याली दत्तात्रयबाट शुरु गरिएको थियो ।

दत्तात्रयबाट शुरु गरिएको ¥याली इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, गहिटी, बंशगोपाल, भार्वाचो, खौमा, दरबारक्षेत्र हुँंदै जिल्ला स्काउट कार्यालय दरबार स्क्वायर पुगेर समापन भएको थियो । ¥यालीमा सहभागी विद्यार्थीले डेङ्गु रोगविरुद्ध विभिन्न जनचेतनामूलक प्लेकार्ड बोकेका थिए भने विभिन्न पर्चा पनि वितरण गरेका थिए । ¥यालीमा विभिन्न स्कूलका सयौँ स्काउटको सहभागिता रहेको थिए ।

डेङ्गु ज्वरो एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग भएकाले यो रोग लागेपछि एक्कासी उच्च ज्वरो आउनु, आँंखाको गेडा तथा टाउकाको पछिल्लो भाग धेरै दुख्नु, शरीर कटकटी दुख्ने, शरीरमा विभिन्न बिमिरा आउने र रक्तश्राप हुनेलगायतका यसका लक्षण देखापर्नेबारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.