‘मायाको नाकाबन्दी नामक गीतिसङ्ग्रह’ विमोचन
काठमाडौँ, १४ भदौ : गीतकार रत्नशम्शेर थापाले वरिष्ठ महिला गीतकार आचार्य प्रभाको ‘मायाको नाकाबन्दी नामक गीतिसङ्ग्रह’को विमोचन गर्नुभएको छ ।
सो गीतिसङ्ग्रहमा मानवीय समवेदना तथा जीवनपद्धतिसँग जोडिएका ८४ गीत रहेका छन् ।
सो अवसरमा गीतकार थापाले गीतको रचना गर्नु कविता लेखनभन्दा निकै जटिल रहेको उल्लेख गर्दै स्रोतालाई केन्द्रित गरेर गीत रचनाको लेखनबाट मात्र स्रष्टा सफल हुने बताउनुभयो ।
“प्रभाको गीति लेखनमा विविधता र रङ्ग छ, यो साहित्यको एक अभिन्न अङ्ग हो”, उहाँले भन्नुभयो ।
प्राज्ञ माया ठकुरीले मुलुक साङ्गीतिक पथमा लम्किरहेको र महिलाको पनि सहभागिता बढदै गएको बताउनुभयो ।
समीक्षक प्रकाश सायमीले नेपालमा पनि म्युजिकको ट्र्याकमा गीत लेख्न थालेको बताउँदै यसअघि भारतमा मात्र म्युजिकको ट्र्याकमा गीत लेख्ने चलन थियो भन्नुभयो ।
गीतकार सङ्घ नेपालका अध्यक्ष चुडामणि देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार दिनेश अधिकारी, राजेन्द्र थापालगायतले गीत लेख्नका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।
