मृगस्थलीमा मृग थपिँदै
काठमाडौं, ८ भदौ : धार्मिक एवं पर्यटकिय क्षेत्रका रुपमा रहेको पशुपति मन्दिर परिसरमा पर्ने श्लेषमान्तक वन मृगस्थलीमा पछिल्लो समय (मृग बाटिका) मृगको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
पशुपति क्षेत्र विकास कोषले विसं २०६१ बाट मृगस्थलीमा मृग पाल्दै आएको हो । करिब ९५ रोपनी क्षेत्रफलमा शुरुआती चरणमा ३० वटा मृग पालिएको थियो । मृगका रुपमा शिव बसेको मृगस्थलीमा मृग नभएको भन्दै आलोचना हुन थालेपछि पशुपति क्षेत्र विकास कोषले मृग पाल्न शुरु गरेको थियो । शुरुआती चरणमा मृगस्थलीमा कृष्णसार १८, चित्तल १० र रतुवा मृग दुई वटा राखिएको थियो ।
दुई वटा रतुवा मृग पाल्न शुरु गरिएको मृग बाटिकामा हाल मृगको सङ्ख्या १३२ पुगेको छ । ३२ मृग बस्न मिल्ने गरी निर्माण गरिएको संरचनामा धेरै मृग हँुदा व्यवस्थापना गर्न अप्ठ्यारो भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मृगको व्यवस्थापनासँगै तारबार गरी पालिएका मृगका कारण श्लेषमान्तक वनको अस्तीत्वनै समाप्त हुँदै गएको छ । वनमा रहेका पुराना रुखको जरासमेत मृगले खोतल्न थालेपछि हाल मृगस्थली वन उडान बन्दै गएको छ ।
विभिन्न क्षेत्रको समन्वयमा बाटिका क्षेत्रमा वृक्षारोपण गरिए पनि मृग र बाँदरका कारण वृक्षारोपणमा मात्रै सीमित भएको छ । सीमित स्थान, मृगको जन्मान्तर छिटोछिटो हुने हुँदा कोषलाई व्यवस्थापन गर्न गाह्रो भएको कोषका सूचना अधिकारी प्रेमहरी ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार कोषले मृगको हेरचाहका लागि तीन कर्मचारी राखेको छ । ती कर्मचारीले मृगलाई दाना, पानी वितरण गर्ने लगायतका काम गर्दै आएका छन् ।
वर्खाको समयमा कोषले बगैँचामा काम गर्ने कर्मचारीको सहयोगमा घाँस दिइन्छ । अरु समयमा दाना पानी मात्रै मृगलाई दिइन्छ । पछिल्लो समय बाटिकामा मृगको सङ्ख्यामा वृद्धि हुन थालेपछि कोषले राष्ट्रिय वन्यजन्तु विभागलाई मृग दिने तयारी गरेको छ । “कोषले ३२ बटा मृग बाटिकामा राखेर अन्य सबै मृग विभागलाई दिन्छ, कोष र विभागको समन्वयमा सूर्यविनायकमा निर्माणधीन सदर चिडियाखाना निर्माण सम्पन्न हुना साथ हटाइने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “हाल मृगबाटिकामा तारजालीभित्र राखिएका मृग सर्वसाधारणले हेर्न पाउँदैनन् ।”
चरनका लागि उपयुक्त घाँसे मैदान नभएका ठाउँमा धेरै मृग राख्दा विश्व सम्पदा सूचीमा परेको पवित्र धार्मिक तथा पर्यटकीय क्षेत्र कुरूप हुने अवस्थामा पुगेको छ । बाटिकामा कोषले आन्तरिक पर्यटीय गन्तव्यका रुपमा विस्तार गर्ने अवधारण बनाएको छ । कोषका सूचना अधिकारी ढुङ्गानाका अनुसार यो वर्ष अवधारण बनाइएको छ । मृग बाटिकामा भएका खाली जमीनमा रुख रोप्ने काम भइरहेको उहाँले बताउनुभयो ।
