चित्रकला प्रतिस्पर्धामा लामा प्रथम
काठमाडौँ, १६ भदौ : पात नभएको रुखको हाँगामा बन्चरो झुन्डाइएको छ । रुखको फेद वरिपरिबाहिरबाट देखिने गरी जरा फैलिएका छन् । पर क्षितिजमा निलो आकाश देखिन्छ । आकाशमा दिउँदको समयमा देखिने हल्का तर सेतो बादलले कलात्मक परिदृष्य निर्माण गरेको छ ।
भोटाहिटीस्थित ललितकला क्याम्पसमा स्नातक तहमा अध्ययनरत कलाकार विद्यमान तामाङले आफ्नो त्यही चित्रबाट काठमाडौँ उपत्यकास्तरीय अन्तरकलेज चित्रकला प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्न सफल हुनुभयो ।
सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगमा प्यागोडा ग्रुपले आयोजना गरेको कार्यक्रममा नगद रु १५ हजारसहित तामाङलाई पुरस्कृत गरिएको छ । विभिन्न २६ कलेजका ४६ विद्यार्थी सहभागी भएको उक्त प्रतियोगिताको निर्णायक समितिमा वरिष्ठ कलाकार मुकेश मल्ल र सिर्जन राजभण्डारी हुनुहुन्थ्यो ।
सोही क्याम्पसका मदन श्रेष्ठले सिर्जना गरेको महिलाहरुले सामाजिक रुपान्तरणका लागि सामूहिक रुपमा गरेको छलफलको सन्देश दिने चित्र दोस्रो भएको छ । टेकु निवासी श्रेष्ठ पनि स्नातक तहका विद्यार्थी हुनुहुन्छ ।
थापाथलीस्थित सेन्ट जेभियर्समा १२ कक्षामा अध्ययनरत सुदिल श्रेष्ठको मरुभूमिमा नग्न महिलाले मुख छोपेको चित्रलाई तेस्रो घोषणा गरिएको छ । श्रेष्ठद्धयलाई क्रमशः रु १० र रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।
सो अवसरमा वरिष्ठ कलाकार मदन चित्रकारले समाजलाई सकारात्मक परिवर्तन गर्नका लागि कलाकृति सशक्त माध्यम भएको बताउदै यसले प्रतिकात्मक रुपमा दिने सन्देशको ठूलो अर्थ हुने बताउनुभयो ।
यस फाउण्डेसनका सदस्यसचिव अतुल कोइरालाले गरीब र निमुखा वर्गको जीवनस्तर उकास्नका लागि कलाकारले सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
स्नातकोत्तर तहका ९ विद्यार्थी, १२ कक्षाका ९ विद्यार्थी र स्नातक तहका २८ विद्यार्थी प्रतिस्पर्धामा सहभागी थिए । उक्त प्रदर्शनी सोमबारसम्म चल्ने आयोजक संस्थाका सहसंयोजक छिरिङविक्रम लामाले जानकारी दिनुभयो ।
नेपाली कलाको विकासका लागि विभिन्न तहका विद्यार्थीलाई परम्परागत, मध्यकालीन, आधुनिकलगायत चित्र निर्माण सम्बन्धी तालीम प्रदान गर्दै आएको उक्त संस्थाले सो प्रतियोगिता पहिलोपटक गराएको हो ।
