मोतीजयन्तीका अवसरमा साहित्यकार सम्मानित

काठमाडौँ २ भदौ : मोतीजयन्तीका अवसरमा त्रिचन्द्र बहुमुखी क्याम्पस नेपाली विभागले केही साहित्यकारलाई सम्मान गरेको छ । एक सय ५४औँ मोती जयन्तीका अवसरमा आयोजित कविगोष्ठीमा साहित्यकार तुलसी दिवस, पुष्कर लोहनी र हरि घिमिरेलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्ने केशव न्यौपाने, मधुसूदन गिरी, उर्मिला शर्मा, प्रेम चौलागाईं, धुव्र भट्टराई, तुल्सी गौतम, विप्लव ढकाल, भुवन न्यौपाने, बच्चुराम भट्टराई, सुभाषचन्द्र अधिकारी र चन्द्रमान श्रेष्ठलाई समेत सम्मान गरियो ।

क्याम्पसप्रमुख प्रदीपबहादुर न्यौपानेले क्याम्पसले नेपाली भाषा र साहित्यको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिइने बताउनुभयो । “त्रिचन्द्र क्याम्पसले थुप्रै साहित्यकारहरु जन्माएको छ”, उहाँले भन्नुभयो, “समाजलाई योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने परिपाटीले स्रष्टालाई हौसला थपिन्छ ।” साहित्यकार दिवसले अक्षरको खेती गर्दा धेरै विषयमा विज्ञता हासिल गर्न सकिने बताउनुभयो । “पद लिएका मानिसहरु आवधिक हुन्छन्”, उहाँले भन्नुभयो, “कला र साहित्य क्षेत्रमा लागेका व्यक्तिहरु कहिल्यै भूतपूर्व हुँदैनन् ।”

अर्का साहित्यकार लोहनीले नेपाली साहित्यको विकासमा मोतीराम भट्टले पु¥याउनुभएको योगदान चिरस्मरणीय रहेको बताउनुभयो । “भट्टले नेपाली साहित्यमा नयाँ–नयाँ विषयको प्रयोग गर्दै पाठकलाई आकर्षित गर्नुभयो”, उहाँले भन्नुभयो, “व्यक्तिका इच्छा र अन्तरमनका कुरा खोतल्न सक्ने उहाँमा विलक्षण क्षमता थियो ।”

साहित्यकार डा बेञ्जु शर्माले मोतीरामले भानुभक्त आचार्यलाई चिनाउने काम गरे पनि मोतीरामलाई ओझेलमा पारिएको बताउनुभयो । “भानुजयन्तीमा महत्वका साथ कार्यक्रम गरिने भए पनि पनि मोतीजयन्ती ओझेलमा पर्ने गरेको छ”, उहाँले भन्नुभयो ।

नेपाली विभाग प्रमुख उषा अधिकारीले विभागले क्याम्पससँगको सहकार्यमा हरेक वर्ष मोतीजयन्तीका अवसरमा कार्यक्रम आयोजना गर्ने बताउनुभयो । नेपाल प्राध्यापक सङ्घका सभापति महेशराज ओझा, प्राध्यापक अङ्गदमणि गौतम, केशव न्यौपानेलगायतले मन्तव्य राख्नुभएको सो कार्यक्रममा कोषराज न्यौपाने, प्रल्हाद पोख्रेल, प्रभा भट्टराई, मञ्जु काँचुली, कृष्णविलास पौडेल, शैलेन्दुप्रकाश नेपाल, शोभा बराल, दिव्यश्वरी जोशीलगायतले कवितावाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.