फेसबुक चलाउने आमै

टङ्क भट्टराई

आमै,
जब बालवयबाट क्रमशः उकालो लाग्दै गयौ
बर्खामासमा भीरको खरुकीझैं
लर्किंदै गयो तिम्रो जवानी

ऊ बेला
कति लर्कियो, कति छल्कियो, कति पोखियो तिम्रो जवानी,
हिंड्दा हुँदी बाटोमा
गाउँदा हुँदी गीतका गेडामा
नाच्दा हुँदी पखेरीमा

तिमीले हेर्दा लालुपाते आफैं मुस्कुराउँथ्यो
घाँघर उचालेर जङ्घार तर्दा खोला आफैं टक्क रोकिन्थ्यो
घाँसको भारीसँगै उकालो चढ्दा पहाड खुत्रुक्क तल ओर्लन्थ्यो

ऊ बेला
कसलाई देखाउनु जोवन फक्रिएको कुरा
कसलाई भन्नु जोवन भरिएको कुरा
उही बतासले पु¥याइदिए त हो
उही पन्छीले सुनाइदिए त हो
मनको गीत
उही खोलाले गाइदिए त हो

आज,
बदलियो जमाना
बदलियो जीवनको रङ्ग

कसले राखिदियो तिम्रो हातमा मोबाइल
हुन सक्छ समयले
कसले सिकाइदियो चलाउन फेसबुक
हुन सक्छ समयले

उमेरले बार्धक्यको उकालो चढ्दै गर्दा
के भयो आमै यस्तो
ओठमा हल्का लाली चढेजस्तो
मनमा काउकुती लागेजस्तो
नसामा नशा चढेजस्तो
जानी नसक्नु छ यो फेसबुकको जादु

यति भएर पनि
बेलाबेला मुटु चस्काउँछ्यौ आमै
सायद जीवन अलिनो छ÷निस्तो छ

साँच्ची, कहाँ छन् होला हितको परानी
वषौंअघि निठुरीेले एक्लै बाटो तताए पनि
दृश्यभरि तस्वीर छोडेर गएका होलान्
मनभरि सम्झना उनेर गएका होलान्
हिर्दयभरि माया खन्याएर गएका होलान्

आमै
कल्पिन्छ्यौ होला तिमी पलपल
कस्तो छ उनी गएको अर्को लोक ?
जहाँ,
उनको हातमा पनि यस्तै मोबाइल भैदिएको भए
अहा, कस्तो हुन्थ्यो
प्राणप्यारासँग हेलो मात्र भन्न पाए …….
छोडीजानेको अनुहार फेसबुकमा झलक्क देख्न पाए ……
एकचोटि मात्र एकचोटि मनको राजालाई
‘आइ लभ यु’ भन्न पाए …….. ।

बूढानीलकण्ठ, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.