प्रदेशसभाका सदस्यद्वारा सरकारको ध्यानाकर्षण

रुपन्देही, १७ साउन (रासस) ः
प्रदेश नं– ५ का प्रदेशसभाका सदस्यले अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा बोल्दै उहाँहरुले सरकारले तोकेको दरबन्दी बमोजिम स्वास्थ्यकर्मी नहुँदा अस्पतालको सेवा प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयो ।

प्रदेशसभाका सदस्य भूमेश्वर चौधरीले स्वास्थ्य सेवामा पहुँच सुनिश्चित् गर्न मागको आधारमा योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले प्रदेश र जिल्ला अस्पतालमा दरबन्दीअनुसार दक्ष जनशक्ती नहुँदा उपचार सेवा गुणस्तरीय हुन नसकेको धारणा राख्नुभयो ।

प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले जिल्ला अस्पतालको अवस्था कमजोर भएकाले उचित व्यवस्थापनका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । “कुनै पनि जिल्लामा दरबन्दीअनुसार चिकित्सक छैनन् जसले गर्दा बिरामीको उपचार सेवा प्रभावकारी हुन सकेको छैन ।” उहाँले भन्नुभयो ।

प्यूठानको उदाहरण दिँदै उहाँले जिल्ला अस्पतालमा २२ जनाको दरबन्दी रहेकोमा एक चिकित्सक र तीनजना स्वास्थ्यकर्मीले सेवा दिँदै आएको बताउनुभयो ।

अर्का सदस्य सन्तोषकुमार पाण्डेले कपिलवस्तुमा समाजवादी पार्टीका अध्यक्षमाथि गोली प्रहार गर्नेलाई कारवाहीको दायरमा ल्याउन माग गर्नुभयो ।

सदस्य कमला विकले रुपन्देहीको सैनामैनामा बौद्धकालीन समयका सम्पदा फेला परेकाले पर्यटकीय क्षेत्रकोरुपमा विस्तारका लागि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य वसीउद्धिन खाँले मलखाद ल्याउने क्रममा भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकमाथि कुटपिट गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । मलका कारण सीमामा भारतीय प्रहरीबाट नेपाली किसान कुटिनुपर्ने विषयलाई गम्भीर रुपमा लिन उहाँले आग्रह गर्नुभयो । उहाँले रुपन्देहीको मायाादेवी गाउँपालिकाको सार्वजनिक जग्गा व्यक्तिको नाममा सारिएको भन्दै अनुगमन गर्न माग गर्नुभयो ।

सदस्य तुल्सीप्रसाद चौधरीले किसानलाई सधैँ मलको अभाव हुने गरेकाले प्रदेश सरकार आफैले मल आयात गर्न जरुरी रहेको बताउनुभयो ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्तुत गर्नुभएको प्रदेशको सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरिएको थियो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलम भाग लिँदै प्रदेशसभा सदस्य रमा अर्यालले प्रतिष्ठानमा पत्रकारको छाता सङ्गठनका प्रतिनिधि र विपक्षी दलको प्रतिनिधिलाई सहभागी गराउन सुझाव दिनुभयो ।

बैठकमा भौतिक पूर्वाधार विकास समितिका सभापति आशा स्वर्णकारले सडक सवारी, यातायात तथा परिवहन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा प्रस्तुत गर्नुभयो ।

यसैगरी अर्थ, उद्योग, पर्यटन विकास समितिका सभापति दधिराम न्यौपानेले प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा प्रस्तुत गर्नुभयो ।

यसअघि बैठकमा सदस्यहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले गत आर्थिक वर्षमा सोचेअनुरुप विकास गर्न नसकेको बताउनुभयो । “भौतिक संरचना र पूर्वाधारको अभावमा भनेजस्तो प्रगति भएन यो वर्षमा विकासको आलोचना नहुने गरी योजना बनाउछौ ।” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.