शहीद मनोज जोशीको स्मृतिमा सप्ताहव्यापी कार्यक्रम
खोटाङ, १४ साउन : शहीद मनोज जोशीको हत्याको भएको बुधबार २८ वर्ष पूरा हुन्छ । नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध कर्मचारीले दिक्तेल बजारमा निकालेको शान्तिपूर्ण आन्दोलनमा सहभागी बन्नुभएका बेला जोशीको विसं २०४८ साउन १५ गते बुधबार प्रहरीको गोली लागेर मृत्यु भएको हो ।
तत्कालीन समयमा दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत रहनुभएका शहीद मनोज जोशीको हत्या भएको घटनालाई जिल्लामा ‘मनोज हत्याकाण्ड’ भन्ने गरिन्छ । बुबा नारायणप्रसाद जोशी र आमा अम्बिका जोशीको कान्छो छोरा शहीद मनोज जोशीको जन्म विसं २०३० असोज २३ गते दिक्तेलमा भएको थियो ।
वास्तविक नाम सर्मेन्द्र जोशी भए पनि मनोजका नामले परिचित शहीद मनोज जोशी इन्द्रेणी सांस्कृतिक समाज तथा कम्युनिष्ट पार्टी निकट युवा सङ्गठनमा आबद्ध हुनुहुन्थ्यो । शहीद मनोजको हत्या भएको समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिएको भन्दै आन्दोलनमा सहभागी १३ जना कर्मचारीलाई सरकारले जागिरबाट हटाएको थियो ।
सरकारविरुद्ध गरिएको कर्मचारी आन्दोलन र प्रहरीको गोलीकाण्ड भएको दिनलाई जिल्लामा ‘मनोज–झपेन्द्र’ स्मृति दिवसका रुपमा मनाउने गरिएको छ । कर्मचारीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका शहीद मनोज जोशीको स्मृति दिवसको अवसर पारेर खोटाङमा सप्ताहव्यापी कार्यक्रम गरिँदै आइएको छ ।
शहीद मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले यस वर्ष गत साउन १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम शुरु गरेको थियो । शहीद मनोजमार्ग सरसफाइ, जिल्लाव्यापी ब्याडमिन्टन तथा चेस प्रतियोगिता, शहीद शीर्षकमा खुला कविता तथा गजल प्रतियोगिता, जिल्लाव्यापी हाजिरी जवाफ, बुद्धिचाल प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
ब्याडमिन्टनको पुरुषतर्फको समूह प्रतियोगितामा साकेला गाउँपालिका–२ रतन्छाका हरिकुमार राई र प्रकाश राईको समूह पहिलो, दिक्तेलका समुन्द्रप्रसाद जोशी र विजयश्वर श्रेष्ठको समूह दोस्रो तथा रतन्छाकै जीतेन्द्र राई र सञ्जीव राईको समूह तेस्रो भएका छन् । पुरुषकै एकलतर्फको प्रतियोगितामा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका एलिस दङ्गाल पहिलो, दिक्तेलका मिलन बस्नेत दोस्रो र जालपाका विजय राई तेस्रो हुनुभएको छ ।
एकलमात्र भएको महिलातर्फको प्रतियोगितामा दिक्तेलका रेणुका राई पहिलो, दिक्तेलकै कल्पना राई (जोशी) दोस्रो तथा जालपाका जुनकला राई तेस्रो हुनुभएको खेल संयोजक मिलन राईले बताउनुभयो । पुरुषतर्फको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद रु छ हजार ६६६, चार हजार ४४४ र तीन हजार ३३३ तथा एकल प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद रु चार हजार ४४४, तीन हजार ३३३ र दुई हजार २२२ साथमा प्रमाणपत्र हात पार्ने जनाइएको छ ।
हाजिरी जवाफ प्रतियोगितातर्फ जिल्ला समन्वय समिति पहिलो, दिक्तेल बहुमुखी क्याम्पस दोस्रो र जिल्ला मालपोत कार्यालय तेस्रो भएको छ । कार्यक्रमको छैटौँ दिन आज साउन १४ गते जिल्ला अस्पताल खोटाङमा उपचाररत २४ जना बिरामीलाई फलफूल वितरणसमेत गरिएको प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताउनुभयो ।
कार्यक्रमको अन्तिम दिन अर्थात् बुधबार शहीद मनोज जोशीको समाधिस्थलमा रहेको शालिकमा माल्यार्पण, श्रद्धाञ्जलिसभा, पुरस्कार वितरणलगायतका कार्यक्रम रहेको जनाइएको छ । समापनको अवसरमा विभिन्न प्लेकार्डसहित निकालिने ¥यालीले दिक्तेलबजार परिक्रमासमेत गर्ने कार्यक्रम रहेको आयोजक समितिका सदस्य एवं नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङका अध्यक्ष मोहन भट्टराईले बताउनुभयो ।
