प्रदेश सरकारको काम र प्रगति सन्तोषजनक
खस्यौली, १४ साउन : प्रदेश नं ५ सरकारले गत वर्षको काम तथा प्रगतिलाई सन्तोषजनक रुपमा लिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक वर्ष ०७५/७६ लाई कानून तर्जुमा, दीर्घकालीन लक्ष्यसहितका योजना तर्जुमा र प्रदेश विकासको आधार तय गर्ने वर्षका रुपमा लिएको प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
उहाँले संशोधित अवस्थामा चालू गत खर्चको तुलनामा पूँजीगत खर्च बढी भएको उल्लेख गर्दै आन्तरिक राजश्वतर्फको प्रगति उल्लेख्य भएको बताउनुभयो । रु दुई अर्ब रु ४० करोड प्रदेश सरकारले लक्ष्य राखेकोमा रु दुई अर्ब ८०० करोड राजश्व सङ्कलन भएको छ । “स्थानीय तहबाट प्राप्त हुने विज्ञापन, मनोरञ्जन कर प्राप्त भएको छैन”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।
मुख्यमन्त्री पोखरेलले पूँजीगत खर्च कम हुनुमा केन्द्रीय सरकारको नीति, निर्देशन र योजना ढिला आउनु रहेको जानकारी दिँदै प्रदेश नं ५ को सरकारले अपेक्षित रुपमा खर्च गर्न सफल रहेको बताउनुभयो ।
साना उद्योगमा लगानी बढ्दै
सरकारले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनअनुसार आव २०७५÷७६ मा १७ हजार ९९७ साना उद्योग थप भएका छन् । प्रदेश नं ५ मा साना उद्योग उद्योगको सङ्ख्या ६६ हजार ३१८ पुगेको छ भने ती उद्योगमा कूल रु सात अर्ब ६९ करोड लगानी भएका छन् । २४ लाख ६० हजार काष्ठजन्य बिरुवा तथा छ लाख ७० हजार जडीबुटी र गैरकाष्ठजन्य बिरुवा उत्पादन भएका छन् । २४ हजार ३७२ क्विन्टल खोटो उत्पादन भएको छ । १२ हेक्टर अतिक्रमित वन संरक्षण गरिएको उल्लेख छ भने पर्यटन पूर्वाधारतर्फ २५ वटा पूर्वाधार निर्माण सम्पन्न गरिएको मुख्यमन्त्री पोखरेलले जानकारी दिनुभयो ।
पाँच सय १५ किलोमिटर सडक चौडा
एक सय १६ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको तथा ५१५ किलोमिटर सडकलाई चौडा गरिएको उल्लेख छ । २४८ किमि सडक ग्राभेल गर्दा २०३ किमि सडक कालोपत्रे गरिएको छ । सिँचाइका लागि पाँच वटा बाँध निर्माण गरिएको छ भने ३९ वटा पक्की नहर निर्माण गरिएको छ । नौ वटा लिफ्ट सिँचाइ आयोजना पूरा भएका छन् ।
४५ किमि विद्युत् वितरण लाइन विस्तार भएको तथा १० वटा जलविद्युत् आयोजनाको पूर्वसम्भाव्यता अध्ययन अगाडि बढाइएको प्रतिवेदनमा उल्लेख छ । गएको आर्थिक वर्षमा एक हजार ७८ घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ । जनता आवास कार्यक्रमअन्तर्गत एक हजार ८२६ वटा घर निर्माण भएका छन् ।
५२ गाउँमा स्मार्ट कृषि
प्रतिवेदनमा ५२ गाउँमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको उल्लेख छ । आव २०७६÷७७ मा पूरा हुने गरी ३५ वटा शीतभण्डार निर्माणका लागि विस्तृत परियोजना तयार भई कार्य अघि बढेको छ भने कूल १२५ मेट्रिक टन क्षमताका शीतभण्डार निर्माण सम्पन्न भएका छन् ।
सामाजिक विकास मन्त्रालय विद्यालयमा भौतिक पूर्वाधारमा सुधारका लागि २५० कक्षा कोठा निर्माण, ६० वटा विद्यालयमा शौचालय निर्माण, छ वटा छात्रावास निर्माण, दुई वटा रङ्गशाला निर्माण कार्य शुरु तथा सात वटा कभर्ड हल र पाँच वटा खेल मैदान निर्माण भएका छन् । १६ वटा स्वास्थ्य संस्थामा प्रयोगशाला र १७ स्थानमा बर्थिङ सेन्टरको विस्तार तथा सुदृढीकरण गरिएको छ । आठ वटा एम्बुलेन्स थप गरिएको छ र ११ वटा मर्चरी फ्रिज वितरण, ११ वटा शव परीक्षण भवन निर्माण तथा सुधार भएका छन् ।
