पहिरामा पुरिएका नौको शव निकालियो, चार अझै बेपत्ता
बुटवल, ७ साउन : गुल्मीमा पहिरामा पुरिएकामध्ये नौ जनाको शव फेला परेको छ । गए रातिदेखिको अविरल वर्षाका कारण पहिराले पुरिएर गुल्मीकोे सत्यवती गाउँपालिका–३ सिङ्धिमा तीन जनाको र वडा नं ४ मा छ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
पहिरामा पुरिएका अन्य चार जना अझै बेपत्ता रहेकासमेत उहाँले बताउनुभयो । अविरल वर्षाका कारण गए राति वडा नं ३ को ठूलो लुम्पेकमा ३४ वर्षीया दिलकुमारी तरामु, उहाँका छोरा नौ वर्षीय दर्शन तरामु र ६३ वर्षीय दुर्गा सिंजालीको शव पहिराबाट निकालिएको छ । सो वडामा पहिरामा १६ वर्षीया बबि विक र ४३ वर्षीया माया विक अहिलेसम्म फेला परेका छैनन् ।
यस्तै वडा नं ४ अन्तर्गत लिम्घामा गएको पहिरोमा पुरिएका छ जनाको शव निकालिएको र अन्य दुई जना हराइरहेका प्रजिअ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो स्थानमा १० वर्षीय हिंमासु विक, २९ वर्षीया पम्फा विक, ३२ वर्षीया निर्मला विक, १२ वर्र्षीया अञ्जली विक, ६० वर्षीया छल्ली विक र १० वर्षीया सिमानी विकको शव फेला परेको छ । सो स्थानमा आठ वर्र्षीया तारा विक र एक नाबालक सुमन अहिलेसम्म फेला परेका छैनन् ।
उक्त क्षेत्रमा पहिराले पूरै गाउँ नै जोखिममा रहेकाले वडा नं. ४ का प्रभावित स्थानियवासी करीब एक हजार सर्वसाधारणलाई स्थानीय राम माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ । यस्तै पहिरामा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा स्थानीयसमेत उद्धारमा खटिएका प्रजिअ पौडेलले जानकारी दिनुभयो । पहिराका कारण वडा नं ३ का बाध, क्रुर र कसुन्थला बढी क्षति पुगेको उहाँले बताउनुभयो ।
यस्तै वडा नं ३ का करीब १०० घरमा क्षति पुगेको र प्रभावित सर्वसधारणलाई स्थानीय सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको सोही वडाध्यक्ष दानबहादुर रानाले जानकारी दिनुभयो । प्रजिअ पौडेलका अनुसार भौगोलिक विकटताका कारण सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थलमा केही समयमै पुग्ने र पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भएको छ । पहिरामा कयौँ चौपायाँसमेत पुरिएका छन् ।
विपद्मा परेकाका लागि राहत सामगी्र र औषधिसहित चिकित्सकहरुको टोलीसमेत घटनास्थलमा पठाइसकिएको र मृतकका शवको पोष्टमार्टम सोही स्थानमै गर्ने व्यवस्था मिलाइएको समेत उहाँले बताउनुभयो । लगातार पानि परिरहेको र ठाउँ–ठाउँमा पहिरोले बाटोसमेत पहिरोले भत्किएकाले घटनास्थलमा उद्धारमा कठिनाइ रहेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।
मन्त्रीहरु राहतसहित प्रभावित क्षेत्रमा
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल राहतसहित पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको छ । मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सह–सचिव इन्दु घिमिरेसहितको टोली प्रभावित क्षेत्रतर्फ जानुभएको छ भने सामाजिक विकासमन्त्री बराल औषधि, टेन्ट, भाडाकुडासहित राहत सामग्रीसहित प्रभावित क्षेत्रतर्फ जानुभएको छ ।
मन्त्री ज्ञवाली र बरालले सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा जुटन सबैमा आग्रह गर्नुभएको छ । गुल्मी क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थान ज्ञवाली र बरालको निर्वाचन क्षेत्र हो ।
अध्यक्ष दाहालद्वारा दुःख व्यक्त
अविरल वर्षाका कारण गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको दुई वडामा पहिरो जाँदा ११ जनाको निधन भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले आज एक विज्ञप्तिमार्फत पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । साथै, उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
“यसप्रकारको विपद्का बेला उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न आह्वान गर्दछु, पहिरोमा परी निधन भएका परिवारलाई आवश्यक क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह गर्दछु”, उहाँले विज्ञप्तिमा उल्लेख छ ।
काङ्ग्रेसद्वारा पहिराबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले गुल्मीको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेक गाउँमा सोमबार राति पहिरोबाट भएको मानवीय एवं भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
काङ्ग्रेस संसदीय दलले आज एक विज्ञप्तिमार्फत उक्त घटनामा परी बेपत्ता भएका व्यक्तिहरुको तत्काल खोजी कार्य गरी उद्धार गर्न र विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनःस्थापनाको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।
पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा विज्ञप्तिमा सो घटनाका घाइते भएकाहरुलाई उपचार एवं राहत तथा मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत सरकार समक्ष आग्रह गरिएको छ । काङ्ग्रेसले पहिरोमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना साथै जीवन गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
मुख्यमन्त्री पोखरेल स्तब्ध
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुल्मीको सत्यवती गाउँपालिकामा गए राति पहिरोले पु¥याएको जनधनको क्षतिको घटनाले स्तब्ध बनाएको बताउनुभएको छ ।
मुख्यमन्त्री पोखरेलले आज विज्ञप्ति जारी गरी सत्यवती गाउँपालिकाको वडा नम्बर ३ को ठूलो लुम्पेक र सिन्धी तथा वडा नम्बर ४ को लिम्घामा अविरल वर्षासँगै गएको पहिरोमा परी नौ जनाको मृत्यु भएको र अन्य चार जना हराइरहेको घटनाले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।
मुख्यमन्त्रीले पहिरोमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जलिका साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । विज्ञप्तिमा विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मी र चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको उल्लेख छ । साथै उद्धार र राहतलाई व्यवस्थित बनाउन सरकारी निकायबीच संयोजनको आवश्यक व्यवस्था मिलाइएको बताउँदै विपद्को बेला एकजुट भई उद्धार र राहतमा जुट्न म सबै राजनीतिक दल, सङ्घसंस्था र आम नागरिकमा अपील गर्नुभएको छ ।
