सहकारी ऐन चाँडै ल्याउने ल्याइने : मन्त्री अर्याल
काठमाडौँ, २८ असार : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले संविधान, ऐन कानून र अन्तरराष्ट्रिय अभ्यास अध्ययन गरेर मात्र बचत तथा ऋण सहकारी संस्थासम्बन्धी ऐन चाँडै ल्याइने बताउनुभएको छ ।
प्रस्तावित बचत तथा ऋण सहकारीसम्बन्धी ऐनमा समेटनुपर्ने विषयबारे सुझाव दिन पुगेको बचत तथा ऋण सहकारी सङ्घको टोलीलाई मन्त्री अर्यालले सहकारीलाई व्यवस्थित गर्न छुट्टै कानून निर्माण गरी व्यवस्थितरुपमा सञ्चालन गर्ने बताउनुभयो । उहाँले सहकारी क्षेत्रमा पारदर्शिता कसरी ल्याउने भन्ने कुरालाई मध्यनजर गरेर नै ऐन ल्याउन लागेको बताउनुभयो ।
मन्त्री अर्याललाई सहकारी सङ्घका अध्यक्ष डिबी बस्नेतले ऐनमा समेट्नुपर्ने सुझाव बुझाउनुभएको थियो । सङ्घका अध्यक्ष बस्नेतले सहकारीलाई नियमन गर्न र व्यवस्थित बनाउन आफूहरुले सुझाव दिएको बताउनुभयो ।
मन्त्रालयका सचिव गोपिनाथ मैनालीले संविधान, सहकारी ऐन २०७४ मा भएका व्यवस्था तथा अन्तरराष्ट्रिय अभ्यास हेरेर ऐन निर्माण गरिने बताउनुभयो ।
