जलेश्वर कारागार डुबानमा, रामजानकी मन्दिरबाट मूर्ति चोरी

गौशाला, १३ असार : आज बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ । बिहान ५ बजेबाट करीब डेढ घण्टासम्म भीषण रुपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको हो ।

झण्डै १६० वर्ष पुरानो राणाकालीन समयमा निर्माण भएको जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको निमित्त जेलर प्रदीपकुमार साहले बताउनुभयो ।

मुसलधारे वर्षाको पानीले कारागारको बाहिर मूलद्वारदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पनि पानी भरेको छ । कारागारभित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानी भित्र प्रवेश गरेर पूरै कारागार जलमग्न र अस्तव्यस्त भएको चौकीदार श्यामसुन्दर यादवले बताउनुभयो ।

उहाँका अनुसार वर्षा र बाहिरी नालाबाट आएको पानीले गर्दा भित्रका कैदीबन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान र घुमफिर गर्न लगायतका विभिन्न समस्या भएको छ । जलेश्वर कारागारमा हाल ४१९ जना पुरुष, ४१ जना महिला र तीन आश्रित बालबालिका गरी जम्मा ४६३ जना कैदीबन्दी रहेका छन् ।

त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने ब्यारेक समेत पानीले प्रभावित बनेको छ । वर्षाको बेला बाहिरी शहरको पानी समेत नाला भएर कारागारमा प्रवेश गर्दा हुने गरेको समस्याबारे जलेश्वर नगरपालिकालाई पटकपटक लिखित र मौखिक रुपमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नगरिएको निमित्त जेलर साहले गुनासो गर्नुभयो ।

मूर्ति चोरी

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर (कुट्टी) बाट गए राति साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार एकडारा गापा–२ मा रहेको रामजानकी मन्दिरबाट गए राति चोरहरुको एक समूहले सात लाख पचास हजार मूल्य बराबरको तीनवटा मूर्ति चोरेर लगेका छन् ।

सो मन्दिरमा रहेका प्रतिगोटा दुई लाख ५० हजारमा किनेर स्थापना गरिएको अष्टधातुको १५/१५ किलोग्रामका डेढ/डेढ फिटको भगवान् रामको, माता सीताको र भगवान् लक्ष्मणलालको गरी तीनवटा मूर्ति चोरेर लगेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

मन्दिरबाट लाखौँको मूर्ति चोरी भएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट ती मूर्तिहरु चोरी गरेका समूहको व्यापक खोजतलासका लागि त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको र चोरहरु चाँडै समातिने प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

उहाँले मूर्ति गह्रैँ रहेकाले चोरहरुले तुरुन्तै बाहिर लैजान नसक्ने भएको बताउँँदै प्रहरीले ती चोरहरुलाई चाँडै समातिने तर्क राख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.