नयाँ पुराना पुस्ताका कला प्रदर्शनी

काठमाडौंँ, ११ असार : नेपाली कलाका विभिन्न शैली, विषय र माध्यम समेटिएका चित्र तथा मूर्तिको प्रदर्शनी चलिरहेको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी प्रदर्शनीमा पाका पुस्तादेखि बालबालिकाका कलाकृति राखिएका छन् ।

अल्फ्रेस्को मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले आयोजना गरेको दुई हप्ते कला प्रदर्शनीमा पाँच सयभन्दा बढी पाका तथा नवपुस्ताका कलाकारका हजार बढी कलाकृति राखिएका छन् । समसामयिक राजनीतिक तथा सामाजिक घटनाका विषयदेखि धर्म, संस्कृति तथा ग्रामीण परिवेश, जनजीवनका विविध आयाम झल्किने कलाकृति प्रदर्शनीमा राखिएका आयोजकले जनाएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै नविल बैंकका प्रमुख कार्यकारी प्रमुख अनिलकेशरी शाहले कलाले समाजलाई समृद्धिको दिशातर्फ लैजाने भनाइ राख्नुभयो । नेपालका विविध सामाजिक पक्षलाई कलाकारले क्यानभासमा उधिनेको प्रदर्शनीका संयोजक श्यामकृष्ण श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार प्रदर्शनीमा पाँच सय स्कुलका आठ सय र अग्रज कलाकारका समेत गरेर एक हजार कलाकृति राखिएका छन् । उहाँले भन्नुभयो, “यस प्रतियोगितात्मक प्रदर्शनीले सबै पुस्ताका कलाकारलाई एकैथलोमा ल्याउन सफल भएको छ, नेपाली समाजका विविध आयाम र परिवशेलाई कलात्मक रुपम समेटिएको छ ।”

प्रदर्शनीमा शशीविक्रम शाह, गेहेन्द्रमान अमात्य, शङ्करराज सिंह सुवाल, जीवन राजोपाध्याय, सुषमा राजभण्डारी, रमेश खनाल, देवेन्द्र थुम्केली, अजित साह, राजेश मानन्धर, राजकृष्ण महर्जन, दीपेन्द्र बनेपाली, विक्रम प्रजापित, गजेन्द्रमान श्रेष्ठ, राजकुमार रानामगर, किशोर नकर्मी, विपना महर्जन, डिना श्रेष्ठ, राकेश श्रेष्ठ, सुनिलबाबु कार्की, झलक केसी, देवांशी काफ्ले लगायतका कलाकारका कलाकृति राखिएका छन् ।

प्रदर्शनीमा विद्यालय मात्र नभएर २३ वटाभन्दा बढी कलेजका विद्यार्थीका कलाकृति पनि प्रदर्शनीमा राखिएको आयोजक सदस्य दीपा विश्वकर्माले जानकारी दिनुभयो । प्रतिस्पर्धामा सहभागी विद्यालय तथा कलेजका विद्यार्थीका उत्कृष्ट ठहरिएका कलाकृतिलाई प्रदर्शनीमा राखिएको कार्यक्रमका संयोजक श्रेष्ठले बताउनुभयो ।

प्रदर्शनीमा हिमालयन कलेजका दीपेश सिजाली मगरको थाङ्का चित्रले प्रथम पुरस्कार प्राप्त गर्न सफल भयो । ख्वपः इञ्जिीनयरिङ कलेजका राहुल प्रजापतिको देवी कुमारीको चित्र द्वितीय र लिङ्कन कलेजका आकांक्षा सिंहको स्वयम्भूनाथको चित्रले तृतीय स्थान हासिल गर्न सफल भए भने, मनिष ध्वजु, नमुन तामाङ मनोग्य विश्वकर्माले सान्त्वना पुरस्कार पाउन सफल भएका छन् ।

त्यस्तै, विद्यालयस्तरीय प्रतिस्पर्धाबाट कक्षा १ देखि ४ कथासम्मको समूह ‘क’ बाट रोहना प्रधान प्रथम, सुक्रिया तामाङ, द्वितीय, संयम अधिकारी तृतीय तथा अक्षब्य गुरुङ, अरिस्का पोखरेल र युवानी सिंहले सान्त्वना पुरस्कार पाएका छन् । कक्ष ५ देखि ७ सम्मको समूह ‘ख’ बाट तमना अग्रवाल, निकेश बस्नेत, अस्मिना राई क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । स्तुति मूल, अलिशा आले र निशान्त लामाले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

त्यसैगरी कक्षा ८ देखि १० सम्मको समूह ‘ग’ बाट देवांश अग्रवाल, खुश्वु तामाङ, नेहिका महर्जन क्रमशः प्रथम, द्वितीय र तृतीय तथा अदिती शेर्पा, बिलिशा देलाल र अरिया तण्डुकारले सान्त्वना पुरस्कार पाएका छन् । प्रदर्शनी बिहीबारसम्म रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.