आयोगका सिफारिस कार्यान्वयन नगर्ने अधिकारीको नाम कालोसूचीमा

काठमाडौँ, ९ असार : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगका सिफारिस कार्यान्वयन नगर्ने अधिकारीको नाम कालोसूचीमा सार्वजनिक हुने बताउनुभएको छ ।

आयोगले आज आयोजना गरेको मानवअधिकारको समसामयिक विषयमा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उहाँले आयोगका सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम कालोसूचीमा सार्वजनिक गर्ने बताउनुभएको हो ।

आयोगका अध्यक्ष शर्माले भन्नुभयो, “आयोगले गरेका सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम कालोसूचीमा राखिन्छ, कालोसूचीमा नाम पीडकको त हुने नै भयो, पीडकलाई कारवाही नगर्ने निकायको नाम पनि कालोसूचीमा सार्वजनिक गरिन्छ ।”

अध्यक्ष शर्माले आयोगको संशोधनसम्बन्धी विधेयक संसदमा दर्ता भएको र महान्यायाधिवक्ता कहा जाने र महान्ययाधिवक्ताले मुद्दा चलाउने र नचलाउने निर्णय गर्ने भनिएको उल्लेख गर्दै प्रश्न गर्नुभयो, “व्याख्या भइसकेको विषयमा फेरि किन यस्तो ऐन ल्याइएको हो ?”

कार्यक्रममा वरिष्ठ पत्रकारहरु हरिहर विरही, तारानाथ दाहाल, नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्ट, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेललगायतले सरकारले ल्याएका पछिल्ला केही विधेयकका विषयमा सम्वाद र वार्ताका माध्यमबाट समाधान खोज्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.