प्राज्ञ राजभण्डारीको चित्र ‘एशियन म्युजियम’ मा

काठमाडौँ, ६ असार : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुष्मा राजभण्डारीले सिर्जना गर्नुभएको गणेशको चित्रलाई रुसस्थित ‘एशियन म्युजियम’ मा राखिएको छ ।

एशियाका विभिन्न देशका अग्रज कलाकारका कलाकृति राखिएको उक्त स्थानमा नेपालका तर्फबाट राजभण्डारीको उक्त कृति दोस्रो पटक राखिएको प्रतिष्ठानले जनाएको छ ।

विश्वमा प्रशिद्ध रहेको उक्त म्युजियममा आफूले सिर्जना गरेको कृतिले स्थान पाएपछि नेपाल र नेपालीको गौरब बढेको बताउँदै प्राज्ञ राजभण्डारीले चित्रमा आँखामा एक प्रकारको शान्तिको भाव प्रकट भएको अनुभव हुने हुँदा आकर्षक रहेको जानकारी दिनुभयो ।

उक्त गणेशको चित्रमा गणेशको आँखा, दाँत र सँुढ चक्कुको प्रयोगबाट सिर्जना गरिएको छ । वरिष्ठ कलाकार राजभण्डारीले नेपाली कलाकार अन्तर्राष्ट्रिय तहमा जुनसुकै देशमा गएर पनि आफ्नो देशको पहिचान राख्न सक्षम भएको विचार व्यक्त गर्दै नेपाल र रुसबीच प्राचीन समयदेखि रहेको आपसी सम्बन्धलाई अझ मजबुत बनाउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अनुसार यसअघि तत्कालीन राजा महेन्द्रको रुस भ्रमणका बेलासँगै रहनुभएका वरिष्ठ कलाकार चन्द्रमान सिंह मास्केको कृति त्यहाँ राखिएको थयो । रुसको राजधानी मस्कोमा गत जेठ २२ देखि ३२ गतेसम्म राजभण्डारीको १६औँ एकल चित्रकला प्रदर्शनी समेत गरिएको थियो ।

विभिन्न ३० कृति रहेको उक्त प्रदर्शनीमा गैर आवासीय नेपाली, विदेशी नियोग, विदेशी कलाकारलगायतले केही चित्र खरीद गर्नुभएको जनाइएको छ ।

यसैबीच प्रतिष्ठानले सबै प्रदेशमा कलाकारको कृतिलाई छनोट गर्ने संयन्त्र विकास गर्ने दृष्टिकोण राखेको छ । प्रतिष्ठानका कुलपति केके कर्माचार्यका अनुसार परिसरभित्र राष्ट्रिय विभूति अरनिको मूर्ति निर्माणकोकार्य भइरहेको छ । नयाँ आवका लागि योजना निर्माण कार्य गरिरहेको प्रतिष्ठानले परम्परागत कला क्षेत्रको प्रवद्र्धन, नवीनत्तम सिर्जनात्मक शैली विकासका लागि देशका विभिन्न स्थानमा कार्यक्रम तथा प्रशिक्षण सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.