सार्कको प्राथमिकतामा महिला तथा बालबालिका
काठमाडौँ, २ असार : दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालले सार्कको प्राथमिकतामा दक्षिण एशियाका महिला तथा बालवालिका पर्ने बताउनुभएको छ ।
सार्क सचिवालयमा आजदेखि शुरु भएको ‘शुरुको बाल्यकाल र महिलाको पोषण’ विषयको सार्क प्राविधिक परामर्श कार्यक्रमको उद्घाटनमा उहाँले आफूहरु बालबालिका समाजमा योगदान गर्न सक्ने होउन् भन्ने कुरा सुनिश्चित गर्न प्रतिबद्घ रहेको बताउनुभयो ।
यसैका लागि सार्कले सन् २००० देखि २०१० सम्म बाल अधिकारका लागि सार्क दशक मनाएको पनि उहाँले जानकारी दिनुभयो । यस क्षेत्रमा महिला र बालबालिकाको पोषणको स्थितिमा सुधार गर्न सार्कको युनिसेफसँगको सहयोग फलदायी भएको पनि उहाँले बताउनुभयो । युनिसेफको सहयोगमा भएको पोषणबारे छलफल गरिने सो परामर्श कार्यक्रममा सार्क सदस्य राष्ट्रका प्रतिनिधिका साथै युनिसेफ प्रतिनिधिको सहभागिता रहेको छ भने कार्यक्रम मङ्गलबारसम्म चल्नेछ ।
