तेस्रो हास्यजनक मुहारचित्र प्रदर्शनी शुरु
काठमाडौँ, ३० जेठ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कार्टुनिष्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा हास्यजनक मुहारचित्र (क्यारिकेचर) प्रदर्शनी शुरु भएको छ । नेपाल कला परिषद्मा राखिएको प्रदर्शनी जेठ ३२ गतेसम्म चल्नेछ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले रिवन काटेर उद्घाटन गर्नुभयो । प्रतियोगितामा ६० वटा कार्टुन क्यारिकेचर राखिएको छ ।
विभिन्न विधाका कलाकार, साहित्यकार तथा सामाजिक क्षेत्रका व्यक्तिका हास्यजनक मुहार चित्रलाई प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति कर्माचार्यले क्यारिकेचर कार्टुन बनाउन सहज नभएको भन्दै यसका लागि रुपविन्यास परिवर्तन गर्नसक्ने क्षमता हुनुपर्ने बताउनुभयो ।
“जसको क्यारिकेचर कार्टुन बनाउने हो सो व्यक्तिको विशेषतालाई रेखामा सरल ढङ्गबाट अभिव्यक्त गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “व्यक्तिका बारेमा अध्ययन गर्नुका साथै विशेषतालाई टपक्कै टिपेर क्यारिकेचर कार्टुन बनाउनुपर्छ ।” उहाँले कार्टुनिष्टले शिल्पगत क्षमतालाई अभिवृद्धि गर्नुपर्ने बताउँदै रेखाजन्य विन्यासमा गुणस्तरीयता ल्याउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका प्राज्ञ परिषद्का सदस्य रमेशनाथ खनालले कार्टुन कलाभित्रको क्यारिकेचरका बारेमा धेरैमा अनविज्ञता रहेको बताउनुभयो । “क्यारिकेचर भन्नाले रङ्गमञ्चमा उभिएर नेतालगायत सिने कलाकारको नक्कल गरेर डायलग बोलेर हसाउने कार्यलाई सम्झने गरिन्छ”, उहाँले भन्नुभयो, “कार्टुन कलाको क्यारिकेचरका बारेमा पनि जानकारी गराउन जरुरी छ ।” कुनै वस्तु वा व्यक्तिको वास्तविक रुपलाई आधार मानी प्रभावकारी ढङ्गबाट अतिरञ्जना प्रस्तुत गर्ने कला नै कार्टुनभित्रको क्यारिकेचर भएको बताउनुयो । “क्यारिकेचर बनाएको व्यक्तिको अनुहार चिनिनुपर्छ”, उहाँले भन्नुभयो, “मुहार नै क्यारिकेचरको महत्वपूर्ण पक्ष हो ।” उहाँले क्यारिकेचरमा दिइने अतिरञ्जनामा विकृतिजन्य पक्ष समावेश गर्न नहुनेमा जोड दिनुभयो ।
कार्टुनिष्ट क्लबका अध्यक्ष अविन श्रेष्ठले कार्टुन क्यारिकेचर बनाइएको व्यक्तिलाई समेत चित्त बुझ्ने ढङ्गले सामग्री तयार पार्नुपर्ने बताउनुभयो । “क्यारिकेचर कसैको खिल्ली उडाउनका लागि तयार पार्ने होइन”, उहाँले भन्नुभयो, “राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा ख्याति कमाएका व्यक्तिका बारेमा क्यारिकेचर गरिने हुँदा संवेदनशील हुन आवश्यक छ ।” प्रदर्शनीमा कुनै पनि राजनीतिक दलका नेताहरुको क्यारिकेचर नराखिएको उहाँले बताउनुभयो । “राजनीतिक दलका नेताका कार्टुन क्यारिकेचर प्रायः सधैँ पत्रपत्रिकामा आउने गर्छन्”, उहाँले भन्नुभयो, “दर्शकलाई नयाँपन दिनका लागि पनि अन्य क्षेत्रका व्यक्ति चित्रलाई ठाउँ दिएका हौँ ।”
कार्यक्रमका अवसरमा क्यारिकेचर प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई नगदसहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा गायक राजेशपायल राईको क्यारिकेचर तयार पार्ने विरोचन मल्ल प्रथम, प्रतिष्ठानकी पूर्वउपकुलपति रागिनी उपाध्ययको क्यारिकेचर तयार पार्ने नीति श्रेष्ठ द्वितीय र कलाकार नीर शाहको क्यारिकेचर तयार पार्ने महेश बास्ताकोटी तृतीय हुनुभएको छ ।
प्रथम हुनेलाई रु २० हजार, द्वितीयलाई रु १५ हजार र तृतीयलाई रु १० हजार र सम्मानपत्रले पुरस्कृत गरिएको हो । प्रतियोगितामा ३२ जनाका ५२ वटा क्यारिकेचर प्रतिस्पर्धामा रहेका थिए । प्रतिस्पर्धामा सहभागी सबै कलाकारलाई सम्मानपत्रले सम्मान गरियो ।
प्रतियोगिताका निर्णयक जीवन रोजोपाध्ययले सबैका प्रतिभा उत्तिकै राम्रा हुँदा निर्णय लिनसमेत निकै मुस्किल परेको बताउनुभयो । “गत वर्षभन्दा यो वर्ष धेरै राम्रा क्यारिकेचर आए”, उहाँले भन्नुभयो, “निकै सोंच विचारका साथ उत्कृष्ट छनोट गर्नुपर्ने परिस्थिति सिर्जना भयो ।”
कार्टुनिष्ट क्लबका महासचिव देवेन्द्र थुम्केलीले हास्यजनक मुहारचित्र (क्यारिकेचर) व्यक्तिको व्यक्तित्व झल्काउने परम्परालाई अगाडि बढाउन लागिएको बताउनुभयो । सामाजिका व्यक्तिलाई प्राथमिकतामा राखेर प्रदर्शनी शुरु गरिएको उहाँले उल्लेख गर्नुभयो ।
प्रतिस्पर्धी क्यारिकेचर र अन्य कार्टुनिष्टका क्यारिकेचरसमेत समावेश गरेर तयार पारिएको ‘नेपाली क्यारिकेचर २०७६’ पुस्तकको लोकार्पणसमेत गरियो । पुस्तकमा प्रदर्शनीमा राखिएका सबै क्यारिकेचर समावेश गरिएको छ । प्रतिष्ठान र क्लबले संयुक्त आयोजनामा यो तेस्रो प्रतियोगिता र प्रदर्शनी हो ।
