भोटेकोशी सभ्यताको प्रचारप्रसार गर्न कला प्रदर्शनी
काठमाडौँ, २८ जेठ : भोटेकोशी नदीको वरिपरी विकास भएको सभ्यतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ललितपुरमा कला प्रदर्शनी शुरु भएको छ । पाटन सङ्ग्रहालयमा जैमिन थैपी नारायण परोकार केन्द्र र भोटेकोशी गाउँपालिकाको आयोजनामा चार दिने प्रदर्शनी भइरहेको छ ।
कार्यक्रममा जैमन थैपी नारायण मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष मेखबहादुर खडकाले सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक रुपमा फुल्पिङकट्टीस्थित नारायण मन्दिर र यसको सेरोफेरो निकै महत्वको रहेको बताउनुभयो । भोटेकोशी सभ्यतालाई देश विदेशमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ कार्यशाला तथा प्रदर्शनीको आयोजना गरिएको जैमिन थैपी नारायण परोपकार केन्द्रका अध्यक्ष अनेश नेपालले जानकारी दिनुभयो ।
प्रदर्शनी अवलोकन गर्न पाटन सङ्ग्रहालय पुग्नुभएका भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले प्रदर्शनीले पर्यटन तथा संस्कृतिको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कलामार्फत समाजमा रहेका सांस्कृतिक वैभवलाई बाहिर ल्याउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको कलाकारको संयोजन गरेको कलाकार दिवेश प्रधानले जानकारी दिनुभयो ।
प्रदर्शनीमा सहभागी कलाकार राकेशचन्द्र श्रेष्ठले चित्रमा भोटेकोशी सभ्यताका महत्वपूर्णस्थल र सम्पदालाई उतारिएको बताउनुभयो । कार्यशाला तथा प्रदर्शनीका संयोजक प्रकाश खड्काले भोटेकोशीको सभ्यताको उत्खनन्मा सहयोग पुगोस् भन्ने हेतुका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
प्रदर्शनीमा विकास बिसुंखे, विक्रम प्रजापति, चन्द्रा श्रेष्ठ, देवेन्द्र थुम्केली, दीपेन्द्रमान बनेपाली, दिवेश प्रधान, कान्छाकाजी भासिमा, लक्ष्मीप्रसाद खोटेजा, प्रकाश मानन्धर, राधेश्याम कर्माचार्य, राजेन्द्रप्रसाद याकामी, सूर्यराम सुवाल, अनत्त श्रेष्ठाचार्यले तयार पारेका कलाकृति राखिएको छ । सिन्धुपाल्चोकको भोटेकोशी–४, फुल्पिङकट्टीस्थित नारायण मन्दिरलाई आधार बनाइ गत वैशाख ९ देखि ११ गतेसम्म चित्र कार्यशाला गरिएको थियो ।
