नाफामा लोककला कार्यशाला र प्रदर्शनी

काठमाडौँ, २७ जेठ: स्थानीय नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को केन्द्रीय कार्यालयमा चार दिवसीय आवासीय लोककला कार्यशाला सम्पन्न भएको छ । नाफा, लोककला विभागद्वारा आयोजित कार्यशालामा १४ जिल्लाका मिथिला चित्रकला, नेवार कला, थारु कला, राजवंशी कला, तामाङ कलालगायत कला क्षेत्रका ३७ कलाकार सहभागी थिए ।

ती कलाकारले चार दिनमा आआफ्नो कला, संस्कृति र परम्परा सुहाउँदो ४० चित्र कोरेका थिए । कार्यशालामा सरिता चित्रकार, सञ्जय वान्तवा, सूर्यबहादुर चित्रकार, रञ्जु यादव, लक्ष्मण मण्डल, पुनम दास, सरिता मण्डल, हरेराम यादव, वीरेन्द्र राजवंशी, वसन्ती चौधरी, गीता ठाकुर, राजन महर्जन, रेखा ठाकुर, शिव छाङ्छा राई, लेख मगरलगायत लोक चित्रकार सहभागी थिए ।

आज समापन समारोहलगत्तै कार्यशालामा सिर्जित कलाचित्रको प्रदर्शनी शुरु भएको छ । प्रदर्शनी नाफाकै प्रदर्शनी कक्षमा आगामी असार ५ गतेसम्म चल्ने छ ।
कार्यशाला समापन गर्दै नाफाका उपकुलपति गोपाल चित्रकारले लोककलाको विकासविना अरु कला विकास हुन नसक्ने बताउनुभयो । “आफ्नो कला, संकृति बचाउने क्रममा लोककलाको महत्वपूर्ण भूमिका रहेको छ”, उपकुलपति चित्रकारले भन्नुभयो ।

नाफाका सदस्य सचिव विपीन घिमिरेले कार्यशालामा धेरै सहभागीलाई आफ्नो मौलिक कलालाई स्थान दिने अवसर मिलेको बताउनुभयो । “यसबाट लोककलाको संरक्षणमा सहयोग पुग्ने छ”, घिमिरेले भन्नुभयो ।

लोककला विभाग प्रमुख मिथिलादेवी यादवले नेपालमा छरिएका रहेका मौलिक लोककलाको संरक्षण, विकास र विस्तारका लागि कार्यशाला आयोजना गरिएको बताउँदै अब मुलुकका अन्य स्थानमा पनि यस्तै कार्यशाला र प्रदर्शनी आयोजना गरिने जानकारी दिनुभयो ।

कलाकार श्यामसुन्दर यादवले संसारको जुनसुकै ठाउँमा पनि आफ्नो कला प्रदर्शनी गर्न सकिने बताउनुभयो । “मौलिक संकृति र परम्परा संरक्षण गर्न प्रत्येक प्रदेशमा कला प्रर्दशनी गर्नुपर्छ”, यादवले भन्नुभयो ।

सो आवासीय कार्यशाला अगाडि प्रदेश २ को सप्तरी र प्रदेश ५ को दाङमा लोककला कार्यशाला सम्पन्न गरिएको थियो । कार्यशालाको उद्घाटन नाफाका पूर्वकुलपति शारदा चित्रकारले यही जेठ २४ गते गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.