‘प्रगतिशील लेखन सामाजिक जीवनसँग आबद्ध छ’
काठमाडौँ, २४ जेठ : प्रगतिशील लेखन सामाजिक जीवनसँग जोडिएकाले यसमा जीवनजगत्कै प्रतिविम्ब हुनुपर्ने सम्बद्ध स्रष्टाहरुले बताउनुभएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र युद्धप्रसाद मिश्र स्मृति प्रष्ठिानले आयोजना गरेको ‘अबको प्रगतिशील लेखन’ विषयको विचार गोष्ठीमा विभिन्न बुद्धिजीवीले प्रगतिशिल साहित्य लेखनको महत्वपूर्ण पाटो सामूहिक जीवन पद्धति रहेको बताउँदै जीवनलाई बुझ्नेक्रममा प्रगतिशील लेखनलाई सुन्दर बनाउन सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यकर्मीले हरेक विकृतिलाई उजागर गर्नुपर्ने बताउनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले मानवीय पक्षलाई बुझेर साहित्य लेखनलाई अघि बढाउनुपर्ने र त्यसका लागि गहन अध्ययन आवश्यक रहेको प्रष्ट्याउनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रा डा ताराकान्त पाण्डेयले साहित्य जीवनजगत्को कलात्मक प्रतिविम्ब भएकाले मानिस र यथार्थसँग यसको गहिरो र विशिष्ट सम्बन्ध रहेको बताउँदै जीवनबारे बोध गराउने कार्य नै प्रगतिशील साहित्य भएको औँल्याउनुभयो ।
टिप्पणीकार हरिहर खनालले आफ्नो परिवेशमा देखेको कुरा साहित्यमा आउनुपर्ने बताउनुभयो । कार्यपत्रमाथि समीक्षा गर्दै वासुदेव अधिकारीले समाज सुधारका लागि लेखिएको साहित्यलाई प्रगतिशील साहित्य भनिने बताउनुभयो ।
अर्का समीक्षक डा गीता त्रिपाठीले साहित्य लेखनको कुरा समाजको अध्ययनसँग जोडिएको छ भन्नुभयो ।
