स्थानीय सरकारको प्राथमिकतामा परेन सफाइ

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १८ जेठ : प्रत्येक हप्ता उपत्यकाका नदी र चक्रपथबाट दर्जनौँ मेट्रिक टन फोहर व्यवस्थापन गर्ने गरिए पनि राजधानी शहर सफा देख्न सकिएको छैन । वाग्मती र यसका धेरैजसो सहायक नदीमा सफाइ अभियान शुरु गरिएको छ । अभियानले मानिसमा जागरण ल्याउनु सकारात्मक छ । अभियानकर्मी स्वयंसेवी अभियानमा लागेका छन् । तर यसलाई गाउँगाउँमा पुगेका स्थानीय सरकारले महत्व दिएजस्तो देखिएको छैन ।

फाटफुट मात्र स्थानीय सरकारका प्रतिनिधि सफाइमा सहभागी हुने गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि सरसफाइसम्बन्धी कार्यविधि जारी गरे पनि त्यस अनुसारको काममा सहभागिता भएको छैन । फोहर व्यवस्थापन स्थानीय सरकारको प्राथमिकतामा पर्न नसकेको नागरिकको गुनासो छ ।

पुतलीसडकमा डेढ वर्षदेखि ढलको कुलो

सिंहदरबार प्रवेश गर्ने पुतलीसडकको मूल सडकमा डेढ वर्षदेखि ढलको कुलो बगे पनि काठमाडौँ महानगरपालिकाले त्यसको व्यवस्थापन गर्न सकेको छैन । यही सडकबाट दैनिक मुलुकका कार्यकारी प्रमुख, न्यायालय प्रमुख, संसद्का प्रमुखलगायत उच्च अधिकारीहरु ओहोर दोहोर हुने गर्दछ ।

पुतलीसडकमा व्यापार गरिरहनुनभएका पद्मराज ढकालले पटकपटक ढल व्यवस्थापनका लागि अनुरोध गरेपनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । सिंहदरबारकै अघिको सफाइको अवस्था यस्तो छ भने अन्यत्र के होला भन्ने सहजै अनुमान गर्न सकिने उहाँको भनाइ छ ।

उपत्यकाबाट १६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गरेका छन् । वाग्मती सफाइ महाअभियानको ३१६औँ हप्तामा मीनभवन पुलमुनिको नदी क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

आलोकनगर सफाइको ११२औँ हप्ताको समूहसमेत वाग्मती सफाइमा सहभागी भएको जनाइएको छ । यसैगरी गुह्येश्वरी माथिको वाग्मती सफाइको २७८औँ हप्तामा गोकर्णेश्वर महादेव मन्दिरमुनिको नदी किनारमा सफाइ गरिएको छ । उक्त क्षेत्रको सफाइ कार्यक्रमबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

रुद्रमती सफाइ अभियानको २७०औँ हप्तामा रातोपुल–कालोपुल पुनः रातोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सो अवसरमा नदी किनारका बिरुवा गोडमेल र संरक्षण गर्ने जिम्मेवारी वडा नं ३० का अध्यक्ष दलबहादुर र्कीले स्थानीयवासीलाई नै दिनुभयो । विष्णुमती सफाइको २४३औँ हप्तामा काठमाडौँ महानगरपालिका–१२ स्थित टेकु क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिनुभयो ।

सफाइपछि भएको बैठकले टेकुभन्दा माथितिरको विष्णुमती धेरै फोहर देखिएकाले यस क्षेत्रको सफाइलाई निरन्तरता दिने सहमति भएको जनाइएको छ । विष्णुमती सफाइ अभियानको धेरै जसो सफाइ नदीको मुहान क्षेत्रको भागमा हुने गरेकाले टेकु, ताहाचल, बालाजु क्षेत्र फोहर बनेको स्थानीयवासीको भनाइ छ ।

वाग्मती तिलगङ्गा क्षेत्रको २१७औँ हप्ताको सफाइ तिलगङ्गा आँखा प्रतिष्ठान अघिको नदी किनारमा गरियो । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १२६औँ हप्ताको सफाइ गरियो । अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिनुभयो ।

मनोहरा नदी सफाइको ११५औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित कोटेश्वर क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दंगालले बताउनुभयो । सफाइमा वडा सदस्य हिरादेवी पोखरेलसहित १५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । चक्रपथ सफाइ अभियानको ११२ औँ हप्तामा नयाँबसपार्कबाट बालाजुसम्मको क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी रेणुका गुरुङले जानकारी दिनुभयो ।

यसैगरी बुटवलको तिनाउ नदी सफाइ अभियानले आजैदेखि ५० हप्ता पुरा गरेको छ । यस अवसरमा ५ नं. प्रदेशका वातावरण मन्त्रीको उपस्थितिमा कार्यक्रम गरी मनाइएको चक्रपथ सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिनुभयो । काठमाडौँको चक्रपथ सफाइ अभियानको प्रेरणामा तिनाउ नदी सफाइ शुरु भएको हो ।

यस्तै विश्व वातावरण दिवसका अवसरमा शुक्रबार भिएस निकेतन विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीले आलोकनगर क्षेत्रमा सफाइ गरेका थिए । चक्रपथ वाफल खण्ड सफाइको ९४औँ हप्तामा सितापाइला चोकबाट कारखाना चोकसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइका क्रममा मरेका कुकुर र बिरालालाई समेत व्यवस्थापन गरिएको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ अभियानको जागरण आएको छ । वाग्मती लगायत नदी सफाइ अभियान महत्वपूर्ण चाड पर्वमा पनि रोकिएको छैन । महाअभियान शुरु भएको पाँच वर्षमा पनि आशातीत रुपमा नदी स्वच्छ देखिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.