कर्मचारीको २० प्रतिशत तलब वृद्धि

काठमाडौँ, १५ जेठ : नेपाल सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ ।

आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०७६/०७७ को बजेट अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीको शुरु तलबमानमा २० प्रतिशतसम्म वृद्धि गरेको घोषणा गर्नुभएको हो । उहाँका अनुसार आगामी साउनदेखि लागू हुने गरी राजपत्राङ्कित श्रेणीका कर्मचारीका २० प्रतिशत र राजपत्राङ्कितको १८ प्रतिशतले वृद्धि गरिएको छ ।

कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, प्राध्यापकको तलब वृद्धि भएको हो । सरकारले तीन वर्षपछि कर्मचारीको तलब वृद्धि गरेको हो । यसअघि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेका सरकारकोतर्फबाट तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेले विसं २०७३ मा कर्मचारीको तलब वृद्धि गर्नुभएको थियो ।

सरकारले महङ्गीभत्ता, पोशाक सुविधा र जीवन बीमालाई भने यथावत राखेको छ । यसबाट कर्मचारीको मनोबल उच्च भई पेशागत निष्ठा बलियो हँुदै सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको मन्त्री खतिवडाले जानकारी गराउनुभयो । कर्मचारीको सरुवा पुरस्कार सजाय र वृत्तिविकास र क्षमता अभिवृद्धिलाई कार्यसम्पादनमा आधारित बनाइने बजेटमा उल्लेख गरिएको छ । योगदानमा आधारित निवृत्तिभरण कोष सञ्चालन गर्नका लागि संस्थागत व्यवस्था मिलाइने बताइएको छ ।

यस्तो छ नयाँ तलबमान

बजेट वक्तव्यमार्फत राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेसँगै कर्मचारीको तलब रु तीन हजार ४४६ देखि नौ हजार ९२६ सम्म वृद्धि हुने भएको छ । बजेट घोषणासँगै अब मुख्यसचिवको पारिश्रमिक रु ५५ हजार २०० मारु नौ हजार ९३६ वृद्धि भई रु ६५ हजार १३६ पुगेको छ । यसैगरी राजपत्रअनङ्कित चतुर्थ श्रेणीका कर्मचारीको पारिश्रमिक रु १७ हजार २३० मा रु तीन हजार ४४६ वृद्धि भई रु २० हजार ६७६ पुगेको छ ।

यसअघि अहिलेकै प्रधानमन्त्री केपी शर्माओलीको नेतृत्वको सरकारका तर्फबाट तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७३ सालमा राष्ट्रसेवकको पारिश्रमिक वृद्धि गर्नु भएको थियो । वृद्धि भएसँगै कर्मचारीले प्राप्त गर्ने पारिश्रमिक :

क्रसं पद राजपत्राङ्कित श्रेणी (१८ प्रतिशत वृद्धि)
अहिलेको तलबमान रु बढेको तलब रु  बढेपछिको तलब रु
१ मुख्यसचिव ५५,२००।– ९,९३६।– ६५,१३६।–
२ राप विशिष्ट श्रेणी ५१,४२०।– ९,२५५।– ६०,६७५।–
३ राप प्रथम श्रेणी ४०,१५०।– ७,२२७।– ४७,३७७।–
४ राप द्वितीय श्रेणी ३४,२२०।– ६,१५९।– ४०,३७९।–
५ राप तृतीय श्रेणी ३०,५००।– ५,४९०।– ३५,९९०।–

क्रसं पद राजपत्रअनङ्कित श्रेणी (२० प्रतिशत वृद्धि)
अहिलेको तलब मान बढेको तलब   बढेपछिको तलब
१. रापअ प्रथम २३,५००।– ४,७००।– २८,२००।–
२. रापअ द्वितीय २२,१७०।– ४,४३४।– २६,६०६।–
३. रापअ तृतीय १८,३४०।– ३,६६८।– २२,००८।–
४. रापअ चतुर्थ १७,२३०।– ३,४४६।– २०,६७६।–

सरकारले तलब वृद्धिको घोषणा गरे पनि कर्मचारीले भने त्यसले आवश्यकता पूर्ति नगर्ने बताएका छन् । कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले वृद्धि भएको तलबले अहिलेको आवश्यकता पूर्ति नगर्ने बताउनुभयो । यद्यपि राज्यको स्रोत साधन हेरेर चित्त बुझाउँदै उत्साहित भई काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

तलब बढेसँगै आयकरको सीमा पनि बढ्यो    

सरकारले सरकारी कर्मचारीको तलबमा वृद्धि गरेसँगै आयकरको सीमामा पनि परिवर्तन गरेको छ । सरकारले अधिकृतभन्दा तलको कर्मचारीमा २० प्रतिशत र अधिकृतभन्दा माथिको तलबमा १८ प्रतिशतले वृद्धि गरेको छ ।

यसअघि एकल व्यक्तिका हकमा वार्षिक रु तीन लाख ५० हजारको आम्दानीसम्म सामाजिक सुरक्षा करबाहेक अन्य कर नलिने गरेकामा अब यसको सीमा बढेर रु चार लाख पुगेको छ । विवाहित जागिरेका हकमा वार्षिक रु चार लाख ५० हजारसम्मको आयमा सामाजिक सुरक्षा कर मात्रै तिरे पुग्ने भएको छ । अघिल्लो आर्थिक वर्षसम्म विवाहित व्यक्तिले वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गरे १०, २० र ३० प्रतिशत गरी अधिकतम ३६ प्रतिशतसम्म कर तिर्नुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.