जलयात्रासँगै आयआर्जनको महत्वपूर्ण विकल्प बन्दै कालीगण्डकी

सुशीला रेग्मी । बेझाड (पाल्पा), १५ जेठ : धार्मिक, ऐतिहासिक, प्राकृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको कालीगण्डकी अब आयआर्जनको पनि दरिलो स्रोत बन्दै गएको छ ।

जैविक विविधताको खानी कालीगण्डकीमा पछिल्लो समय जलयात्राको माध्यमबाट प्रशस्त आम्दानी लिन सकिने सम्भावना बढ्दै गएकोे छ । कालीगण्डकीको तल्लो भाग राम्दीदेखि देवघाटसम्म नियमित ¥याफ्टिङ चलाउन कर्णाली ¥याफ्टिङ एण्ड एड्भेञ्चरका विज्ञसहितको टोलीले सफल परीक्षण गरिसकेका छन् ।

सो परीक्षणपछि यो क्षेत्र पारिवारिक जलयात्राका लागि अति उत्तम मानिएको निष्कर्ष टोलीले निकालेपछि यसको चासो र चर्चा अझै बढेको हो । यस नदीमा नियमित जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना रहेको पर्यटन व्यवसायी दीपक रोकाले बताउनुभयो ।

“राम्दीदेखि देवघाट क्षेत्रका विभिन्न भूभागमा जलयात्रा नियमित गरेमा पर्याप्त रोजगारीका साथै मनग्य आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो । जलयात्राबाट पर्यटक भित्र्याउन अति नै उपयुक्त रहेकाले यसको व्यवसायीकरणमा जोड दिनुपर्ने रोकाको भनाइ छ ।

उहाँका अनुसार पारिवारिक जलयात्राको अनुभूति दिलाउन, व्यावसायिक हिसाबले नियमित जलयात्रा सञ्चालन गर्न रामपुर नगरपालिकाको आयोजनामा बृहत् कालीगण्डकी जलयात्रा महोत्सव सम्पन्न गरिसकिएको छ । गत वैशाख ६ र ७ गते नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भएको बृहत् जलयात्रा महोत्सवपश्चात् धेरैले यहाँ व्यावसायिक ढङ्गबाट जलयात्रा गर्न सुझाएका छन् ।

कालीगण्डकी वेसीका पाल्पाको रम्भा गाउँपालिका, स्याङ्गजाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाले ऐक्यबद्धता जनाउँदै यस नदीको पानीलाई पर्यटनसँग जोडेर पारिवारिक जलयात्रा गरी विश्वसामु चिनाउन स्थानीय तहको पहलमा अगाडि बढ्ने बताइएको छ ।

करीब तीन सय सहभागीले राम्दीको मालुङ्गाधामदेखि पुट्टारघाटसम्म जलयात्राको भरपुर मनोरञ्जन लिएमन थिए । यससँगै धेरैले व्यावसायिक तवरबाट जलयात्रा गर्न सुझाव दिएका हुन् । शालिग्राम पाइने नदीका नामले विश्वसामु परिचित बनेको यो नदीमा अब नियमित जलयात्रा गरेर आम्दानीको स्रोत जुटाउन सकिन्छ ।

प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने यस नदीमा व्यावसायिक तवरले जलयात्रा सञ्चालन गरियो भने तल्लो क्षेत्रका स्थानीयवासीको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ । चारैतिरबाट सडक सञ्जालले जोडिएको यो क्षेत्र धार्मिक, पर्यटकीय क्षेत्रका हिसाबले अत्यन्तै राम्रो मानिएकाले नदीको पानीबाट पनि आर्थिक लाभ लिने गरी नियमित जलयात्रा सञ्चालन गर्न सरोकारवालासँग समन्वय गरिरहेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“बहेको पानी सदुपयोग गर्दै तल्लो क्षेत्रको पर्यटन विकास गरी यहीँ नदीबाट धेरैले रोजगारी पाउने अवसर रहेकाले जलयात्रा सञ्चालन गरेर यहाँका स्थानीयको जनजीवन उकास्न सकिन्छ”, नगरप्रमुख थापाले भन्नुभयो ।

कालीगण्डकी उपत्यकालाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने, नियमित जलयात्रा गरी रोजगारीबाट आयआर्जन बढाउन, विश्वभर कालीगण्डकीलाई चिनाउन, नदी र जीवनको महत्व जोडिने भएको हँुदा यसको उपयोग गरी स्थानीयवासीले प्रशस्त आम्दानी गर्ने सुनौलो अवसर प्राप्त गर्नेछन् ।

धार्मिक महत्वका हिसाबले परिचित यस नदीमा जलयात्राबाट कालीगण्डकीले धेरैलाई रोजीरोटी गर्ने अवसर प्रदान गर्ने हुँदा दिगो रुपमा जलयात्रा सञ्चालन गर्न सरोकारवाला निकायको समन्वयकारी भूमिका आवश्यक रहेको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताउनुभयो ।

राष्ट्रिय गौरवकै आयोजना रहेको कालीगण्डकी करिडोर यसै नदीसँग जोडिएकाले पनि यहाँ जलयात्राबाट गतिलो आम्दानीको स्रोत भित्र्याउन सकिन्छ । मुक्तिनाथदेखि देवघाटसम्म जोड्ने कालीगण्डकी करिडोरको काम धमाधम अगाडि बढ्दैछ । यही सडक भएर आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि कालीगण्डकीको जलयात्रामा रमाउने सक्ने वातावरण स्थानीय सरकारले सिर्जना गर्न सक्नुपर्छ ।

भोटेकोशी, त्रिशूली नदीमा दुई–चार दिनको समय लगाएर रमाउने पर्यटकलाई यहाँसम्म ल्याउने वातावरण बनाइयो भने जलयात्राका लागि कालीगण्डकी धेरैको रोजाइ बन्न सक्छ । लुम्बिनी र पोखराको बीच भागमा पर्ने भएकाले पनि कालीगण्डकीको जलयात्रालाई सफल व्यावसायिकताका रुपमा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.