पूर्वप्रधानन्यायाधीश खत्रीको निधनको शोकमा आइतबार अदालतमा बिदा
सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले आइतबार शोक बिदा दिने निर्णय गरेको हो । अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार निधन हुनुभएका स्वर्गीय खत्रीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
ललितपुर जिल्लामा मेजर दिलबहादुर खत्री र आमा अप्सरादेवी खत्रीको सन्तानका रुपमा १९८० असोज ३ गते जन्मनु भएका खत्री २०३३ साल साउन २४ गतेदेखि २०४२ मङ्सिर २५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर काम गर्नुभएको थियो ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश हुँदा उहाँको कार्यकालमा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्दै समग्र न्यायपालिकाको श्रीवृद्धिको उल्लेखनीय योगदान पु¥याउनुभएको थियो ।
विस २००४ मा मुलुकी अड्डा ऐसवाल फाँटबाट सरकारी सेवामा प्रवेश गर्नुभएका पूर्वप्रधानन्यायाधीश खत्रीले २००९ सालमा कानून मन्त्रालयको सचिव हुँदै प्रधानन्यायाधीश भई न्यायको क्षेत्रमा योगदान दिनुभएको थियो ।
