नगरप्रमुख चढ्ने प्राडो गाडीमा आगजनी

अछाम मंगलसैन नगरपालिकामा मंगलवार राती अज्ञात समूहले आगजनीबाट क्षति ग्रस्त बा २ झ ३६९४ नम्वरको प्राडो गाडी । तस्विर: होम साउद, अछाम

अछाम, १ जेठ : अछामको मङ्गलसैन नगरपालिकाको प्राडो गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा२ झ ३६९४ नंको गाडीमा गए राति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।

रातिको समयमा आगजनी भएकाले गाडी पूर्णरुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार गाडीमा आगजनी गर्नेको खोजी भइरहेको छ ।

मङ्गलैन बजारका स्थानीयवासीले गाडीमा आगजनी भएको प्रहरीलाई जानकारी गराएका थिए । रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म आगजनी कसले गरेको हो भन्ने कुरा पत्ता नलागेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो ।

पार्किङ गरेर राखिएको गाडी योजनाबद्ध ढङ्गले आगजनी गरेको हुनसक्ने प्रमुख प्रशासकीय अधिकृत गणेश ढुङ्गानाले बताउनुभयो । सोही ठाउँमा पार्किङमा राखिएको टिपरलगायत अन्य सरकारी गाडीलाई केही पनि नगरेको उहाँले बताउनुभयो ।

नगरप्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त प्राडो गाडी नगरपालिकाले करीब एक वर्षअघि रु एक करोड २० लाखमा खरीद गरेको थियो । गाडीमा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशङ्कामा प्रहरीले खोजीकार्य तीव्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.