तीन सहकारी संस्था एकीकरण
बागलुङ, २८ वैशाख : काठेखोला गाउँपालिका–२ भिमापोखराका तीन सहकारी एकापसमा गाभिएका छन् । गुहेँली सञ्चार, सूर्यमुखी कृषि तथा पशु व्यवसायी र सक्षम बचत तथा ऋण सहकारी संस्था एकीकरणपछि एक भएका हुन् ।
एकीकृत पूँजीको विकास, दोहोरो सदस्यता अन्त र सहकारीको गुणस्तर बढाउने उद्देश्यसहित सहकारी एकीकरण गरिएको हो । बचत, कोष, शेयर पूँजी, लगानीजस्ता सबै दायित्व गुहेँलीले बहन गर्ने गरी एकीकरणको सम्झौता भएको थियो ।
सहकारी सङ्घसंस्था एकीकरण कार्यविधि–२०७० अनुसार सहकारी एकीकरण गरिएको गुहेँली सञ्चार सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष खिमबहादुर कार्कीले बताउनुभयो । “तीनै सहकारीले विशेष साधारणसभामार्फत एकीकरणको निर्णय गरेका हुन्” उहाँले भन्नुभयो । एकीकरणपछि भूमिश्वर उपाध्यायको अध्यक्षतमा नयाँ सञ्चालक समिति बनेको छ ।
साधारणसभाले सहकारीको कार्यक्षेत्र विस्तार गर्ने निर्णयसमेत गरेको छ । हाल काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाको वडा नं ६ र ७ मा मात्र सहकारीको कार्यक्षेत्र छ । एकीकरणपछि सहकारीको कूल पूँजी रु ८९ लाख ९८ हजार ९२६ पुगेको छ । यस्तै शेयर सदस्य सङ्ख्या बढेर ३०० पुगेको छ ।
सहकारीलाई पूँजी, भौतिक तथा मानवीय संशाधानद्वारा सक्षम बनाउन तथा दिगो विकास र स्थायित्व कायम गर्न सहकारी एकीकरण हुने गरेका छन् । एकीकरणका लागि सम्बन्धित सहकारी संस्थाका शेयर सदस्य, सञ्चालक समिति, लेखासमितिलगायत अन्य समिति र पदाधीकारीसँग छलफल गरी सहमति जुटाउनुपर्ने प्रावधान छ ।
यस्तै शर्त तथा कार्यविधि तय गर्न संयुक्त कार्यदल बनाउनुपर्ने, कार्यविधि साधारणसभामा लैजाने र साधारणसभाबाट पारित गरी आवश्यक प्रक्रियामार्फत सहकारी संस्था एकीकरण गर्न सकिने व्यवस्था एकीकरणसम्बन्धी कार्यविधि २०७० ले गरेको छ ।
हालसम्म जिल्लामा १० भन्दा बढी सहकारी संस्था एकीकरण भइसकेका छन् । जिल्लामा पहिलोपटक विसं २०७० मा बागलुङ सदरमुकाममा रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्था र छिमेकी तित्याङको कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एकीकरण भएको थियो । गुँहेली सञ्चार सहकारी संस्था लिमिटेडले ‘जननिगरानी’ साप्ताहिक र ‘खबर वे’ अनलाइन पत्रिका सञ्चालन गर्दै आएको छ ।
