‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा कार्यान्वयन गर्न आह्वान
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ केन्द्रीय सञ्चालक समितिको पाँचौँ महाधिवेशन समापन समारोहमा रक्षामन्त्री पोखरेलले भन्नुभयो, “भूतपूर्व सैनिक जनशक्तिले देशको प्रतिष्ठा र समाजको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।” भूपू सैनिकको समस्या योजना बनाएर समाधान गरिने बताउँदै उहाँले भन्नुभयो, “विश्वसामु वीर गोरखाली परिचय प्राप्त गर्ने वीर सैनिकको योगदानबाट मात्र राज्यको विकासको सङ्कल्प पूरा हुनेछ ।”
बलाधिकृत रथी शरदकुमार गिरीले संस्थागत मूल्य मान्यता र संस्कारलाई अवकाशपछि पनि जीवन्त राख्न भूपू सैनिकले खेल्दै आउनु निकै प्रशंसनीय रहेको बताउनुभयो । सञ्चालक समितिका सभापति अवकाश प्राप्त सहायक रथी दिगम्वर शम्शेर राणाले नेपाली सेनाबाट अवकाश प्राप्त सैनिक र परिवारको कल्याण खातिर सङ्घले काम गर्दै आएको जानकारी दिनुभयो ।
देश र जनहितको कल्याणका लागि २०११ सालमा स्थापित सङ्घले एक विशुद्ध सामाजिक संस्थाका रुपमा काम गर्दै आएको छ । महाधिवेशनका क्रममा भूपूका राय सुझाव सङ्कलन गरी सङ्घको विधान संशोधन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
महाधिवेशनमा पूर्वप्रधान सेनापति, नेपाली सेनाका बहालवाला एवं अवकाश प्राप्त रथीबृन्द तथा अधिकृत, भूतपूर्व राष्ट्रिय सेवा सङ्गठन राष्ट्रिय समन्वय परिषद्, भूतपूर्व नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सङ्घठनका भूतपूर्व पदाधिकारीको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ ।
