युद्ध सङ्ग्रहालयको डिपिआर बनाइँदै
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन उहाँलाई लागि श्रेष्ठलाई आग्रह गर्नुभएको थियो । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “प्रचण्डज्यूले डिपिआर गर्न भन्नुभएको छ, हामी यथाशीघ्र डिपिआर तयार गर्छाैं ।”
सबै प्रक्रिया सम्पन्न गरेर आउँदो आर्थिक वर्षबाट डिपिआरको काम शुरु गर्ने तयारी गरिएको छ । उहाँले आउँदो आर्थिक वर्ष बजेट विनियोजन गरी काम अगाडि बढाउन लागिएको बताउनुभयो । विश्वका उत्कृष्ट युद्ध सङ्ग्राहलयसमेत अध्ययन गरेर डिपिआर तयार गरिने योजना छ ।
सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर उक्त सङ्ग्रहालयमा राखिनेछ । दश वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध कसरी भएका थिए भन्ने इतिहास झल्काउने खालका कला कुँदेर देखाउन सकिने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
उक्त सङ्ग्रहालय आम नेपालीका लागि इतिहास र महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थल बन्नसक्ने उहाँको भनाइ थियो । सो क्षेत्र पर्यटकीय गन्तव्य सौराहा नजिक पर्छ । सङ्ग्रहालय बनेसँगै यहाँ आउने पर्यटकको बसाईं लम्बिने र पर्यटक बढ्ने अपेक्षा गरिएको छ । अध्यक्ष प्रचण्ड, रामबहादुर थापा बादललगायतको गृहजिल्ला हुनाका साथै देशको केन्द्रबिन्दुमा यो क्षेत्र परेकाले उक्त सङ्ग्रहालय छिटो बन्ने अपेक्षा गरिएको छ ।
