शान्ति शिक्षामा लुभ्यानको योगदानको स्मरण
‘क्रोधरहित संसार’ (डब्लुडब्लुए) संस्थाका प्रमुख संरक्षक डा लुभ्यानको हृदयातघातका कारण यही वैशाख ३ गते संयुक्त राज्य अमेरिकामा निधन भएको थियो । नेपाललाई आफ्नो दोस्रो घर मान्दै यहाँको शिक्षा विकास र शान्ति स्थापनामा लामो समय योगदान दिनुभएका उहाँले सन् २००३ मा ‘डिनभ्यान क्रोधरहित जीवन’ पुस्तकका लागि ‘भिजनरी अवार्ड’ प्राप्त गर्नुभएको थियो ।
सो पुस्तकलाई प्रा डा मुरारीप्रसाद रेग्मी, लक्ष्मण शाक्यलगायतका विज्ञले नेपाली भाषामा अनुवाद र परिमार्जन गरी नेपालका विभिन्न विद्यालयमा क्रोधरहित तालीम सञ्चालन हुँदै आएको छ । नेपालले सशस्त्र युद्धको प्रभाव खेपेका समयमा सो डिनभ्यानको अगुवाइ र ‘ग्लोबल पिस फेडरेसन’ नेपालका सहकार्यमा शान्ति शिक्षा, सकारात्मक सोच, व्यवहार र भावनात्मक साक्षरताका लागि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएका थिए । उहाँको नाममा नेपालमा ‘डिन अफ इन्टरनेशनल पिस प्राइज’ समेत स्थापित छ । पछिल्लो समय गत वर्ष भएको मानव संशाधनसम्बन्धी ‘आठौँ अन्तर्राष्ट्रिय सम्मेलन’ का लागि डिनभ्यान नेपाल आउनुभएको थियो ।
डब्लुडब्लुएका नेपाल अध्यक्ष देशमर्दन बस्न्यातले विश्व शान्तिका लागि व्यक्तिको व्यवहार र भावनात्मक परिवर्तन गराउन डिन भ्यानको अभियानलाई आफूहरुले सधैँ स्मरण गर्ने बताउनुभयो ।
यसैबीच, समाजले डिन भ्यानको १३ औँ दिनको स्मृतिमा आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले डिन भ्यानको योगदान उल्लेखनीय रहेको बताउँदै विश्व शान्ति स्थापनाका लागि निरन्तर पहल गर्न आग्रह गर्नुभयो ।
