मौसमले उडान प्रभावितः हेलिकप्टर नउडाउन अनुरोध

काठमाडौँ, २० वैशाख : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवरुद्ध भएको छ । अन्तर्राष्ट्रिय उडानका केही जहाजसमेत आकासमा फन्को लगाउने ‘होल्ड’ भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज र सुर्खेतका लागि उडेका बुद्ध एयरका जहाज मौसम खराबीका कारण पुनःकाठमाडौँ फर्किएको छ ।

त्यस्तै, श्रीएयरलाइन्सको जहाज पनि फर्केको छ । अन्तर्राष्ट्रियतर्फ एयर बङ्गलाको जहाज करीब आधा घण्टा होल्ड भएको थियो । भैरहबादेखि पश्चिम क्षेत्रका अधिकांश उडान प्रभावित भएका छन् ।

विमानस्थलमा सामान्यतया दुई नियमअनुसार जहाज उडान–अवतरण गरिन्छ । एउटा भिजुअल फ्लाइट रुल (भिएफआर) र अर्को इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर) । सामान्य अवस्थामा भीएफआर नियमबाट उडान अवतरण गरिन्छ । यस नियमअनुसार काठमाडौँमा भिजिबिलिटी ५ हजार मिटर आवश्यक पर्छ । यो समाचार तयार पार्दासम्म (दिउँसो २ बजे)विमानस्थलको सेवा सामान्य अवस्थामा आइसकेको प्रवक्ता तिवारीले बताउनुभयो ।

राष्ट्रिय आपतकालीन केन्द्रको अपिल    

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न सार्वजनिक अपिल गरेको छ । केन्द्रले आज एक सूचना जारी गर्दै पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुनसक्ने हुँदा सो क्षेत्रमा अहिले देखिनै भोलि दिनभरसम्म हेलिकप्टर उडान नगर्न नगराउन र पर्यटक एवं यात्रुले सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

भारतमा आएको फानी चक्रवातले नेपालको पूर्वी भाग पनि नराम्ररी प्रभावित हुने भन्दै केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको हो । भारतमा बिहानैदेखि प्रतिघण्टागति १७५ किमिमा फानी चक्रवात चलिरहेको र आज अपराह्न ३ बजेदेखि उक्त चक्रवातले नेपालका पूर्वी जिल्लामा पनि प्रभाव पार्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले चक्रवात ‘फानी’ बारे विशेष बुलेटिन निकालेर हाल बङ्गालको खाडीमा उडिसाको तटीय क्षेत्र नजिकै अवस्थित रहेको र उक्त प्रणाली भारतको उडिसाको तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने सम्भावना रहेको छ । यो प्रणाली उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने बताइएको छ । उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना नदेखिए पनि यसको प्रभाव नेपालको पूर्वी र मध्यक्षेत्रमा आज र भोलि शनिबारसम्म मौसम प्रभावित भई पूर्वी र मध्यका धेरै स्थानमा मेघगर्जन÷चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने तथा एक दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.