कसजुलाई ‘राष्ट्रिय बाल साहित्य पुरस्कार’
काठमाडौँ, १८ वैशाख : बाल साहित्यकार विनयकुमार कसजुलाई रु एक लाख राशिको राष्ट्रिय बाल साहित्य पुरस्कार प्रदान गरिएको छ । नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले उहाँलाई आज उक्त पुरस्कारसहित सम्मान गरेको हो । राजधानीमा आयोजित एक कार्यक्रमका बीच शताब्दी पुरुष सत्यमोहन जोशीले दोसल्ला ओढाएर उहाँलाई पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा १०० वर्ष प्रवेश गर्न लागेका अवसरमा शताब्दी पुरुष जोशीलाई दोसल्ला ओढाएर कदरपत्रले अभिनन्दन गरिएको थियो । उहाँलाई गुठीका अध्यक्ष प्रा डा चूँडामणि बन्धुले अभिनन्दन गर्नुभएको थियो । गुठीले लुम्बिनी अञ्चलस्तरीय लोकगायक पुरस्कारबाट नवलपरासीका तेजबहादुर केसी, राष्ट्रिय लोकगायक नवप्रतिभा पुरस्कारबाट बाग्लुङका निरु श्रीष र लुम्बिनी अञ्चलस्तरीय साहित्य नवप्रतिभा पुरस्कारबाट रुपन्देहीका अस्मित रेग्मीलाई सम्मान गरेको थियो । उक्त पुरस्कारको राशि क्रमशः रु ३० हजार, रु २५ हजार र रु २० हजार रहेको छ ।
शताब्दी पुरुष जोशीले संस्थापक स्व गङ्गा राणा र नूरप्रताप जबराको योगदानका बारेमा चर्चा गर्दै यस्तो सम्मानले कलाकार तथा साहित्यकारलाई हौसला मिल्ने बताउनुभयो ।
प्रतिभा मूल्याङ्कन समितिका संयोजक प्रा राजेन्द्र सुवेदीले पुरस्कृत व्यक्तिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले एक शताब्दीको सिङ्गो साछी जोशीले समाजलाई मार्गनिर्देश गरी युवा जोशका साथ बाँच्नुको बेग्लै महत्व रहेको उल्लेख गर्नुभयो ।
गुठीका संरक्षक अमीरप्रताप जबराले मातापिताको सदीक्षाबमोजिम गुठीलाई आगामी दिनमा अझै विस्तार गर्दै लैजाने बताउनुभयो । विसं २०४९ मा लोक गायिका गङ्गा राणा र साहित्यकार नूरप्रताप जबराले गुठी स्थापना गर्नुभएको थियो ।
