मेलमिलापकर्ताको सम्मेलन सम्पन्न

काठमाडौँ, १७ वैशाख : भावी रणनीतिसहितको पच्चीसबँुदे घोषणापत्र जारी गर्दै मेलमिलापकर्ताहरुको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
मेलमिलाप सेवालाई व्यावसायिक रुपमा विकास गर्न र विशिष्टीकृत मेलमिलाप सेवा दिने, सामुदायिक मेलमिलाप केन्द्र र न्यायिक समिति बीचको सम्बन्धमा स्पष्टता ल्याउनुपर्ने, विवाद समाधानमा मेलमिलापलाई बढी प्राथमिकता दिनुपर्नेलगायत घाषणापत्रमा उल्लेख छन् ।
सम्मेलनमा मेलमिलाप पद्धतिका आधारभूत अवधारणा तथा मेलमिलापकर्ताको आचारसंहिताको पालनाको स्थिति, नेपालमा मेलमिलापको वर्तमान अवस्था, हासिल भएका उपलब्धि, देखिएका समस्या तथा भावीकार्यदिशा विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
सम्मेलनमा स्थानीय तह, सामुदायिक मेलमिलाप, वर्तमान अवस्था र सुधारका क्षेत्रमाथि छलफल भएको थियो । सम्मेलनको सोमबार प्रधानन्यायाधशि चोलेन्द्रशम्शेर जवराले उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा १५३ जना सहभागिता रहेका थिए ।
मेलमिलाप परिषद्का अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सम्मेलन समापनका अवसरमा मेलमिलापकर्ताहरुको दोस्रो राष्ट्रिय सम्मेलनले मेलमिलापको पद्धतिलाई अझै प्रभावकारी रुपमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।
आगामी दिनमा स्थानीय निकायका न्यायिक समिति, सामुदायिक मेलमिलाप केन्द्रहरुमा हुने मेलमिलापले न्यायपालिकामा आउने मुद्दाको सङ्ख्यामा कमी आउन सके मात्र मेलमिलापको अर्थले सार्थकता पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलन समारोहमा मेलमिलाप परिषद्का पूर्वअध्यक्ष गिरिशचन्द्र लाल र वैद्यनाथ उपाध्यायलाई मेलमिलाप परिषद्मा रहेर महत्वपूर्ण योगदान पु¥याउनु भएकोप्रति प्रशंसा गर्दै सम्मान गरिएको थियो ।
त्यस्तै मोरङ जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलले धेरै मुद्दालाई मेलमिलापका लागि सिफारिश गरेको र चितवन जिल्ला अदालतमा मेलमिलापकर्ताको महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जयनारायण आचार्यलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.