आख्यानकार गौतमलाई युगकवि सिद्धिचरण पुरस्कार

काठमाडौँ, १७ वैशाख : युगकवि सिद्धिचरण प्रतिष्ठानले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई यस वर्षको ‘युगकवि सिद्धिचरण पुरस्कार – २०७६’ प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाको अध्यक्षतामा आज बसेको बैठकले आधा शताब्दीभन्दा अघिदेखि नेपाली वाङ्मयमा विशेष गरी आख्यान विधामा महत्वपूर्ण योगदान दिइरहनुभएका गौतमलाई रु एक लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । गौतमका दुई दर्जन बढी उपन्याससहित ५० भन्दा धेरै कृति प्रकाशित छन् ।

यसैगरी प्रतिष्ठानले यस वर्षको ‘युगकवि सिद्धिचरण पत्रकारिता पुरस्कार–२०७६’ आधा शताब्दी अघिदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुहुने वरिष्ठ पत्रकार होमनाथ दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि रु ५१ हजार छ । पुरस्कार पाउने प्रतिभा चयनका लागि प्रतिष्ठानका उपाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा प्रा डा उषा ठाकुर र सूर्यबहादुर सेन सदस्य रहनुभएको पुरस्कार छनौट उपसमिति गठन गरिएको थियो ।

पुरस्कार युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औँ जन्म जयन्तीको अवसरमा आगामी जेठ ९ गते प्रदान गरिने प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.